२०८३ साउन ९ शनिबार

विश्व स्वास्थ्य सभामा नेपाललाई उपाध्यक्ष पद, स्वास्थ्य कूटनीतिमा महत्वपूर्ण उपलब्धि हासिल

ई आर्थिक    आइतबार, जेष्ठ २४ २०८३
1.3K
Shares
विश्व स्वास्थ्य सभामा नेपाललाई उपाध्यक्ष पद, स्वास्थ्य कूटनीतिमा महत्वपूर्ण उपलब्धि हासिल

काठमाडौं।  जेनेभामा १८ देखि २३ मे २०२६ सम्म सम्पन्न विश्व स्वास्थ्य सभा (WHA) मा नेपालले स्वास्थ्य कूटनीतिक क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ।

नेपालका तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता सहितको टोलीले सक्रिय सहभागिता जनाउँदै दक्षिण–पूर्वी एसिया क्षेत्रबाट विश्व स्वास्थ्य सभाको उपाध्यक्ष (Vice-President) पदमा नेपाल निर्वाचित भएको छ। साथै, नेपालले Executive Board सदस्यको भूमिका समेत निर्वाह गर्ने अवसर प्राप्त गरेको छ।

सम्मेलनमा माननीय मन्त्रीले नेपालको स्वास्थ्य क्षेत्रले हासिल गरेका उपलब्धि, आगामी कार्यदिशा तथा स्वास्थ्य क्षेत्रमा बलियो अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकताबारे सम्बोधन गर्नुभएको थियो।

सोही अवसरमा मन्त्रीज्यूले भारत, बंगलादेश, इन्डोनेसिया, थाइल्याण्ड, माल्दिभ्सलगायत देशका समकक्षी मन्त्रीहरूसँग औपचारिक भेटवार्ता गरी स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहकार्य सुदृढ गर्ने विषयमा छलफल गर्नुभयो।

भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीसँगको भेटमा AIIMS अस्पतालमा स्नातकोत्तर अध्ययनरत नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति तथा स्टाइपेन्ड उपलब्ध गराउने विषयमा सकारात्मक छलफल भएको छ। साथै, भारत सरकारसँग रोकिएका स्वास्थ्यसम्बन्धी सम्झौताहरू पुनः नवीकरण गर्ने सहमति भई प्रक्रिया सुरु भएको जनाइएको छ।

त्यसैगरी, मन्त्रीज्यूले विश्व स्वास्थ्य संगठन (WHO) का महानिर्देशक, GAVI (Global Alliance for Vaccine and Immunization) का प्रमुख कार्यकारी अधिकृत तथा Global Fund का प्रतिनिधिहरूसँग पनि औपचारिक छलफल गरी नेपालको स्वास्थ्य क्षेत्रमा थप अन्तर्राष्ट्रिय सहायता परिचालनका विषयमा कुराकानी गर्नुभएको छ।

GAVI सँगको कूटनीतिक संवादमार्फत विद्यमान चुनौती समाधानतर्फ सकारात्मक प्रगति भइरहेको बताइएको छ।

इन्डोनेसियाको सफल स्वास्थ्य बीमा प्रणालीबाट सिक्न नेपालले प्राविधिक टोली पठाउने सम्भावनाबारे पनि छलफल भएको छ। इन्डोनेसिया पक्षले नेपालको स्वास्थ्य बीमा प्रणाली सुदृढीकरणमा सहकार्य गर्न सकारात्मक प्रतिबद्धता जनाएको छ।

नेपालले चिकित्सक तथा स्वास्थ्यकर्मीको विदेश पलायन रोकथामका लागि “International Recruitment of Health Workforce” सम्बन्धी प्रस्ताव अघि सार्दै सभामा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ।

त्यसैगरी, मानसिक स्वास्थ्य, आत्महत्या न्यूनीकरण, मिडवाइफ्री, स्वास्थ्यमा कृत्रिम बौद्धिकता (AI) को उपयोग, पाठेघरको मुखको क्यान्सर रोकथाम, प्राथमिक स्वास्थ्य सेवा तथा आप्रवासी स्वास्थ्यलगायत विषयमा विभिन्न आधिकारिक साइड इभेन्टहरूको सह–आयोजना गरिएको थियो।

मन्त्रीज्यूले नेपालमा बाल क्यान्सरको निःशुल्क उपचार कार्यक्रम निरन्तरताका लागि पनि विशेष पहल गर्नुभएको जनाइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यी उपलब्धिहरूले अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिमा नेपालको उपस्थिति थप मजबुत बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij