काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले “ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान” विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम आज (जेष्ठ २० गते) अपराह्न ४ बजे बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा आयोजना गर्ने भएको छ।
कार्यक्रममा इप्पानको संस्थागत सुदृढीकरण, नेतृत्व चयन प्रक्रिया, तथा २१ औं र २३ औं साधारणसभाबाट पारित तथा प्रस्तावित विधान संशोधनका विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ। साथै ऊर्जा क्षेत्रको समग्र विकास, निजी क्षेत्रको भूमिका र संस्थाको आगामी कार्यदिशाबारे समेत गहन बहस हुने बताइएको छ।
इप्पानको २४ औं वार्षिक साधारणसभाको प्रमुख एजेन्डामा रहेको विधान संशोधनलाई केन्द्रमा राख्दै ऊर्जा उद्यमीहरूबाट राय–सुझाव संकलन गरी आगामी निर्वाचन रणनीति तय गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।
आयोजकका अनुसार जलविद्युत् क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका व्यवसायी, लगानीकर्ता तथा सरोकारवालाहरूको सहभागितामा संस्थाभित्र देखिएका व्यवस्थापकीय चुनौती, नेतृत्व प्रणाली, र संस्थागत सुधारका विषयमा छलफल गरिनेछ। विधान संशोधनमार्फत इप्पानलाई अझ प्रभावकारी, पारदर्शी र एकताबद्ध बनाउने लक्ष्य राखिएको बताइएको छ।
हालको विधानअनुसार अध्यक्ष बन्न कार्यसमितिमा प्रवेश गरी विभिन्न पदहरू हुँदै वरिष्ठ उपाध्यक्षसम्म पुगेर करिब ९ वर्षको प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेको छ। उक्त व्यवस्था परिवर्तन गर्दै नेतृत्वमा नयाँ पुस्ताको पहुँच विस्तार गर्नुपर्ने मागसहित दुईतिहाइभन्दा बढी सदस्यहरूको समर्थनमा विधान संशोधनको पहल अघि बढाइएको जनाइएको छ।
कार्यक्रम “परिवर्तनकारी समूह” को आयोजनामा भइरहेको हो। सो समूहमा वर्तमान कार्यसमितिका महासचिव बलराम खतिवडा, उपाध्यक्ष भरत बहादुर खत्री, उपमहासचिव प्रकाशचन्द्र दुलाल, सचिव भरत नेपालसहित मिथुन पौडेल, ईशा श्रोष्ठ, कुमार खरेल, सञ्जीव न्यौपाने, राजेन्द्र बि.सी., गोपाल निउरे, पुष्कर ढंगेल, भानु पोखरेल, डा. भुषण गुरागाईं, सन्तोष नेपाल, मोहन कार्की, सालिकराम बेल्बासे, हिमाल गुरुङ, ईन्दीरा पन्त, आनन्द प्रधान, तारा सुब्बा, अर्जुन पौडेल, बिरेन्द्र मल्ल, जगदीश बहादुर पाल, बिनोद देवकोटा लगायत दुई दर्जनभन्दा बढी जलविद्युत् व्यवसायीहरूको सहभागिता रहेको जनाइएको छ।
कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी, तथा पूर्वअध्यक्षहरू कृष्णप्रसाद आचार्य, शैलेन्द्र गुरागाई, डा. सुवर्णदास श्रेष्ठ, डा. सन्दीप शाह लगायतको उपस्थिति रहनेछ।
आयोजकका अनुसार कार्यक्रमले ऊर्जा क्षेत्रका सरोकारवालाबीच साझा धारणा निर्माण गर्दै इप्पानलाई थप संगठित, लोकतान्त्रिक र एकताबद्ध बनाउने तथा निजी क्षेत्रको भूमिका सुदृढ गर्ने लक्ष्य लिएको छ।
साथै, इप्पानका सदस्य, ऊर्जा व्यवसायी, पत्रकार तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई आफ्ना सुझाव तथा धारणा राख्न आयोजकले आग्रह गरेको छ।