२०८३ असोज २ शुक्रबार

प्रत्यक्ष वैदेशिक लगानीमार्फत निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको ८२ प्रतिशत प्रगति, वेयर गेट परीक्षण सफल

ई आर्थिक    शुक्रबार, जेष्ठ १५ २०८३
1.5K
Shares
प्रत्यक्ष वैदेशिक लगानीमार्फत निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको ८२ प्रतिशत प्रगति, वेयर गेट परीक्षण सफल

काठमाडौं । कोरियाली कम्पनीको नेतृत्वमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मार्फत निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले ८२ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले उपकरण जडान कार्य सन् २०२६ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको जनाएको हो।

बिहीबार आयोजनाअन्तर्गत हाइड्रोमेकानिकल संरचनाको महत्वपूर्ण भाग मानिने तीन वटा वेयर गेटमध्ये एउटा गेट सफलतापूर्वक जडान तथा परीक्षण सञ्चालन गरिएको कम्पनीले जनाएको छ। वेयर गेटमार्फत नदीको बहाव नियन्त्रण गरी पानीलाई विद्युत् उत्पादनका लागि सुरुङतर्फ मोड्ने, बाँधमा पानीको सतह कायम राख्ने तथा अतिरिक्त पानी सुरक्षित रूपमा नदीमा फर्काउने काम गरिन्छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोनुङ किमले वेयर गेट जडान तथा परीक्षण सफल हुनु आयोजनाको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै निर्धारित समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

सन् २०२४ र २०२५ मा त्रिशूली नदीमा आएको बाढीका कारण निर्माण कार्य प्रभावित भए पनि आयोजना सन् २०२७ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम जारी रहेको कम्पनीले जनाएको छ। निर्माणका क्रममा गुणस्तर, सुरक्षा तथा वातावरणीय मापदण्डलाई उच्च प्राथमिकता दिइएको पनि कम्पनीको भनाइ छ।

आयोजनाको बाँध तथा सम्बन्धित संरचना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ को हाकु क्षेत्रमा निर्माण भइरहेको छ भने भूमिगत विद्युत्गृह उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन छ। मुख्य निर्माण कार्य २०७८ पुसदेखि सुरु गरिएको थियो।

हाल आयोजनाको ९.५ किलोमिटर लामो मुख्य सुरुङमा कंक्रिट लाइनिङको काम भइरहेको छ। जटिल मानिएको २९२ मिटर लामो ठाडो सुरुङ निर्माण सम्पन्न भइसकेको छ। साथै विद्युत्गृहको सिभिल संरचना निर्माण सकेर टर्बाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान कार्य भइरहेको आयोजना व्यवस्थापनले जनाएको छ।

आयोजनाबाट वार्षिक एक अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ। उत्पादित विद्युत्मध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने बताइएको छ।

उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ बी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यसका लागि कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ।

काठमाडौं लोड सेन्टर नजिक रहेको तथा हिउँदयाममा समेत १०४ मेगावाट स्थिर (फर्म) ऊर्जा उत्पादन गर्न सक्ने भएकाले माथिल्लो त्रिशूली–१ आयोजना नेपालको ऊर्जा प्रणालीका लागि महत्वपूर्ण आयोजनाका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij