२०८३ साउन १२ मंगलबार

लाशिक्याप–धो सडक निर्माण सुरु, १ अर्ब ७५ करोड बढी लागत अनुमान

ई आर्थिक    आइतबार, जेष्ठ १० २०८३
1.6K
Shares
लाशिक्याप–धो सडक निर्माण सुरु, १ अर्ब ७५ करोड बढी लागत अनुमान

डोल्पा ।  कर्णाली प्रदेशअन्तर्गत डोल्पा जिल्लाको लाशिक्याप–धो सडक खण्डमा नयाँ सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढाइने भएको छ। प्रस्तावित सडक आयोजनाका लागि १ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदनअनुसार सडक खण्ड डोल्पा जिल्लाको काइके गाउँपालिका–५ स्थित लाशिक्यापबाट सुरु भएर डोल्पो बुद्ध गाउँपालिकाको धो क्षेत्रमा पुगेर अन्त्य हुनेछ।

यो सडक जाजरकोट–दुनै–मरिम–तिन्जे–धो सडक अन्तर्गतको सहायक सडक खण्डका रूपमा निर्माण हुन लागेको हो। प्रस्तावित सडकको कुल लम्बाइ ३७.५ किलोमिटर रहेको छ। त्यसमध्ये २२.७ किलोमिटर क्षेत्रमा नयाँ ट्र्याक खोलिनेछ भने बाँकी १४.८ किलोमिटर सडकलाई स्तरोन्नति गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ।

हाल उक्त सडकको औसत चौडाइ करिब २ मिटर मात्रै रहेको र अधिकांश भाग माटे सतहको रहेको जनाइएको छ। नयाँ निर्माण तथा स्तरोन्नतिपछि सडकलाई दुई लेनको बनाइने योजना छ।

सडक हिमाली भू–भाग हुँदै निर्माण गरिने भएकाले यसले सामुदायिक वन क्षेत्र नावरपानी, शे–फोक्सुण्डो मध्यवर्ती क्षेत्र तथा कोलाङचुङ, चुङजुलो, सिसौल र कलाड खोलालगायतका क्षेत्रलाई छोएर जानेछ। सडकको अधिकांश भाग ठूली भेरी नदीको किनार हुँदै विस्तार गरिने जनाइएको छ।

आयोजनाअन्तर्गत सडक खण्डमा ४ वटा पुल निर्माण गरिनेछ। साथै १०४ वटा ह्युम पाइप कल्भर्ट, २ वटा स्ल्याब कल्भर्ट र १ वटा कजवे निर्माण गर्ने प्रस्ताव गरिएको छ।

स्थानीयस्तरमा सडक विस्तारले यातायात पहुँच सुधार, जनजीवन सहज र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij