२०८३ साउन १२ मंगलबार

चालु खाता र शोधनान्तर स्थिति दुवैमा उल्लेख्य सुधार, ७ खर्ब ३१ अर्ब बचत

ई आर्थिक    मंगलबार, बैशाख २९ २०८३
2.3K
Shares
चालु खाता र शोधनान्तर स्थिति दुवैमा उल्लेख्य सुधार, ७ खर्ब ३१ अर्ब बचत

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२/८३ को समीक्षा अवधिमा नेपालको बाह्य क्षेत्र थप सुदृढ बनेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु खाता र शोधनान्तर स्थिति दुवै उल्लेख्य बचतमा पुगेका छन्।

समीक्षा अवधिमा चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब २२ अर्ब ६७ करोड रुपैयाँ मात्र रहेको थियो। अमेरिकी डलरमा चालु खाताको बचत १ अर्ब ६४ करोड डलरबाट बढेर ४ अर्ब ३२ करोड डलर पुगेको छ।

त्यस्तै, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो।

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि बढेको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा इक्विटीमार्फत १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ८ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो।

यस्तै, शोधनान्तर स्थिति पनि उल्लेख्य रूपमा सुधारिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ थियो।

अमेरिकी डलरमा शोधनान्तर बचत २ अर्ब ५५ करोड डलरबाट बढेर ५ अर्ब १० करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij