काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन्। उनले ६३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई ३ मतले पराजित गरेका हुन्। घिमिरेले ६० मत पाएका छन्।
श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए।
वस्तुगततर्फ कार्यकारिणी सदस्य पदमा अरनिको राजभण्डारी, विदुर धमला, सागर ढकाल, रवीन पुरी, राजकुमार कार्की, पशुपतिदेव पाण्डे, लिलेन्द्र प्रधान, भक्तबहादुर हमाल, नानिराज घिमिरे, संघर्ष बिष्ट र होमप्रसाद घिमिरे निर्वाचित भएका छन्।
महिला सदस्यतर्फ सुनिता नेहाफुकी विजयी भएकी छन्।
यसैगरी, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०/५० मत प्राप्त गरेका छन्। उनीहरूबीच कार्यकाल निर्धारणका लागि गोलाप्रथा गरिनेछ, जसबाट चार जनामध्ये तीन जना चयन हुनेछन्।
जिल्ला-नगरतर्फ उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनअन्तर्गत जिल्ला-नगरतर्फ उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्।
निर्वाचन परिणामअनुसार शर्माले ८७ मत र श्रेष्ठले ८० मत प्राप्त गर्दै आफ्नो जीत सुनिश्चित गरेका हुन्। दुवै उम्मेदवार महासंघको स्वतः अध्यक्ष बन्ने अञ्जन श्रेष्ठ समूहका तर्फबाट प्रतिस्पर्धामा थिए।
यसैगरी, वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समूहबाट जिल्ला-नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे प्रतिस्पर्धामा उत्रिएका थिए। तर, डालमियाले ५० मत र गैरेले ३० मत मात्रै प्राप्त गरे।
जिल्ला-नगर खुल्लातर्फ कार्यकारिणी सदस्य पदमा अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कातुवाल, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की विजयी भएका छन्।
त्यस्तै, महिला सदस्यतर्फ गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन्।