काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधार अघि बढाउनुपर्ने बताएका छन्। उनले मुलुकको आर्थिक रूपान्तरणका लागि नीतिगत स्थायित्व, सुशासन र लगानीमैत्री वातावरण अपरिहार्य रहेको उल्लेख गरे।
अध्यक्ष ढकालले महासंघको ६० वर्षे यात्रा देशको आर्थिक इतिहाससँग गाँसिएको उल्लेख गर्दै निजी क्षेत्रले उद्योग, व्यापार र लगानी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए। राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति र आर्थिक संकटबीच पनि महासंघले चुनौतीलाई अवसरमा बदल्दै अर्थतन्त्रलाई अघि बढाएको उनको भनाइ थियो।
उनले हाल गठन भएको स्थायी सरकारलाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै विकास र स्थायित्वका लागि यसको सदुपयोग गर्न आग्रह गरे। सरकारद्वारा निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षण रणनीति (PSPP) कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै यसले निजी क्षेत्रलाई भौतिक र नीतिगत सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे।
ढकालले दोस्रो चरणको आर्थिक सुधारलाई तीव्रता दिन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। कानुनी सुधार, प्रविधिको प्रयोग र पारदर्शितामार्फत सुशासन कायम गर्न आवश्यक रहेको उनले बताए।
नेपालमा वार्षिक करिब पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने र ठूलो संख्यामा विदेशिने अवस्था रहेको उल्लेख गर्दै उनले देशभित्रै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए। निजी क्षेत्रले हाल ८६ प्रतिशत रोजगारी प्रदान गरिरहेको भन्दै यसलाई अझ सुदृढ बनाउन आग्रह गरे।
उनले विगत तीन दशकमा नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशतमा सीमित रहेको, वैदेशिक लगानी न्यून रहेको तथा नीतिगत अस्थिरताले बजार प्रभावित भएको बताए। पछिल्लो समय मध्यपूर्वमा देखिएको संकटले पर्यटन, रेमिट्यान्स र इन्धन मूल्यमा असर पार्न सक्ने चेतावनी पनि दिए।
अध्यक्ष ढकालले स्वदेशी लगानी प्रवर्द्धनका लागि १० अर्ब रुपैयाँ चुक्ता पुँजीको ‘नेपाल डेभलेपमेन्ट पब्लिक लिमिटेड कम्पनी’ स्थापना भइसकेको जानकारी दिँदै यसबाट ठूला आयोजना सञ्चालन सम्भव हुने बताए। साथै, भारत, चीन, युएई लगायतका देशमा आयोजित बिजनेस समिटमार्फत विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्ने प्रयास भइरहेको उल्लेख गरे।
सुशासनलाई वैदेशिक लगानीको पूर्वशर्त भन्दै उनले प्रविधिको उच्चतम प्रयोग र सदाचार प्रवर्द्धनमार्फत प्रशासनिक सुधार गर्नुपर्ने बताए। नागरिक एपमार्फत व्यवसाय दर्तादेखि अन्य सेवा सहज बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्ने सुझाव दिए।
आगामी आर्थिक वर्षको बजेटलाई सुधारको प्रारम्भ बिन्दु बनाउन आग्रह गर्दै ढकालले निजी क्षेत्रले सरकारको मात्र भर नपरी आफैं पहल लिनुपर्ने धारणा राखे। स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरी लगानी विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
कोभिड–१९ महामारी र भूकम्पपछिको पुनरुत्थानलाई स्मरण गर्दै उनले निजी क्षेत्रको धैर्यता र क्षमता बलियो भएको उल्लेख गरे। “हामी निराशा होइन, आशा छर्ने पक्षमा छौँ,” उनले भने, “भोलिका दिन अझ उज्याला हुनेछन्।”
कार्यक्रममा सरकारका उच्च अधिकारी, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
