२०८३ साउन १० आइतबार

अस्पताल परिसरमा अनधिकृत फोटो–भिडियोमा रोक, स्वास्थ्य मन्त्रालय दियो कडा चेतावनी

ई आर्थिक    बिहिबार, बैशाख १७ २०८३
1.8K
Shares
अस्पताल परिसरमा अनधिकृत फोटो–भिडियोमा रोक, स्वास्थ्य मन्त्रालय दियो कडा चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र अनुमति बिना फोटो तथा भिडियो खिच्ने, अनधिकृत रूपमा प्रवेश गर्ने र स्वास्थ्यकर्मीको काममा अवरोध पुर्‍याउने गतिविधि नगर्न कडा चेतावनी दिएको छ।

मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय केही व्यक्तिहरू अस्पताल परिसरभित्र स्वीकृति बिना प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको फोटो–भिडियो खिच्ने, भिडभाड गर्ने र उपचार कार्यमा बाधा पुर्‍याउने गतिविधि बढेको उल्लेख गरेको छ। यसले बिरामीको गोपनीयता उल्लङ्घन हुनुका साथै उपचार सेवामा गम्भीर असर परेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बिना अनुमति भिडियो खिच्ने, चिकित्सक तथा कर्मचारीमाथि दबाब दिने वा अभद्र व्यवहार गर्ने कार्य कानुनविपरीत हो।

विज्ञप्तिमा “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६” को दफा ३ अनुसार उपचारमा बाधा पुर्‍याउन नपाइने व्यवस्था रहेको उल्लेख गरिएको छ। त्यस्तै, सोही ऐनअनुसार स्वास्थ्यकर्मीमाथि हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गर्न निषेध गरिएको छ।

त्यसैगरी मुलुकी अपराध संहिता २०७४ को दफा २९५ अनुसार अनुमति बिना कुनै व्यक्तिको फोटो खिच्न नपाइने व्यवस्था रहेको पनि मन्त्रालयले स्मरण गराएको छ।

मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र सम्बन्धित निकायको अनुमति बिना फोटो–भिडियो नखिच्न र कानुन विपरीत गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ। यस्ता कार्य गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही हुने र जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई समेत जानकारी गराइसकिएको मन्त्रालयले जनाएको छ।

साथै, उपचार सेवामा कुनै गुनासो भए सम्बन्धित निकायमा उजुरी गर्न सकिने व्यवस्था रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij