फाइल तस्विर
काठमाडौँ : नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घमा आन्तरिक विवाद चर्किँदै जाँदा महासचिवसहित ११ जना पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिएको दाबी गरिएको छ।
सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर सङ्घका बहुमत पदाधिकारीहरूले वर्तमान नेतृत्वसँग सहकार्य गर्न नसकिने भन्दै राजीनामा दिएको जनाइएको छ। राजीनामा दिनेहरूमा महासचिव महेश बस्नेतसहित ५ जना पदाधिकारी र ६ जना सदस्य रहेका छन्।
राजीनामा दिने पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष बैकुण्ठ प्रसाद पौडेल, सचिव कुन्छा दोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिँजाली लगायत रहेका छन्। सदस्यहरूमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरूङ, रमा खड्का र देवीप्रसाद गिरी रहेका छन्।
यससँगै ७ जना पदाधिकारीमध्ये ५ जना र १० जना निर्वाचित सदस्यमध्ये ६ जनाले राजीनामा दिएको दाबी गरिएको छ।
यसअघि बहुमत पदाधिकारीको बैठकले सङ्घका अध्यक्ष भुवनसिंह गुरुङसँग स्पष्टीकरण मागेको थियो। त्यसको जवाफमा अध्यक्षले नै महासचिवलाई स्पष्टीकरण सोधेसँगै विवाद थप चर्किएको बताइएको छ।
राजीनामा दिने पक्षले अध्यक्ष गुरुङको कार्यशैली संस्थागतभन्दा व्यक्तिगत भएको र निजी कम्पनी जस्तो व्यवहार देखिएको आरोप लगाएका छन्। आन्तरिक रूपमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको उनीहरूको भनाइ छ।
तर अध्यक्ष गुरुङले भने आफूलाई सामूहिक राजीनामाबारे कुनै आधिकारिक जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनले कसैले पनि राजीनामा पत्र नबुझाएको र सञ्चारमाध्यमबाट मात्र हल्ला सुनेको बताए।
उनले संस्थाभित्र कुनै विवाद नरहेको दाबी गर्दै कार्यसमिति बैठक आह्वान भइसकेको अवस्थामा असन्तुष्टि भए बैठकमै प्रस्तुत गर्न आग्रह गरेका छन्। साथै, विधान विपरीत आफूभन्दा तल्लो तहका व्यक्तिबाट स्पष्टीकरण सोधिएको भन्दै त्यसको औचित्य नरहेको पनि उनले स्पष्ट पारे।