काठमाडौं : पूर्वशिक्षामन्त्री एवं स्वतन्त्र सांसद महावीर पुन ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेल को व्यवहारप्रति कडा आपत्ति जनाएका छन्।
शुक्रबार सार्वजनिक भएको एक भिडियोमा सांसद पोखरेलले विद्यालयका हेडमास्टरले गेटसम्म आएर स्वागत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको देखिन्छ। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पुनले त्यसप्रति आक्रोश व्यक्त गर्दै टिप्पणी गरेका हुन्।
पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यस्तो व्यवहार अस्वीकार्य भएको बताएका छन्। “म यिनको नेता भएको भए ठाउँको ठाउँ बर्खास्त गरेर घर पठाइदिने थिएँ,” उनले लेखेका छन्।
उनले सांसद भनेको जनताको सेवक भएको उल्लेख गर्दै जनताले दिएको जिम्मेवारीअनुसार काम गर्नुपर्ने धारणा राखेका छन्। “सांसदले आफ्नो समय र क्षमता जनताको काममा लगाउनुपर्छ, स्वागत नगरेको भन्दै रवाफ देखाउनु उचित होइन,” पुनले बताएका छन्।
पुनले सांसद पोखरेललाई तुरुन्त माफी माग्न वा जनताले फिर्ता बोलाउनुपर्ने समेत बताएका छन्। उनका अनुसार यस्तो व्यवहारले सांसद पदकै गरिमा घटाएको छ।