काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई आमन्त्रण गरिएको छ।
बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूले भोगिरहेका समसामयिक समस्या, चुनौती र तिनका समाधानका उपायहरूबारे व्यापक छलफल हुने जनाइएको छ। साथै तत्कालै समाधान गर्न सकिने विषयहरूमा समेत विशेष ध्यान दिइने बताइएको छ।
छलफलमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय का उपकुलपतिसहित पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सहभागी हुनेछन्। त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय का उपकुलपतिहरू पनि उपस्थित रहनेछन्।
यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय का उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले संवाद गर्ने कार्यक्रम रहेको छ।
प्रतिष्ठानतर्फ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि सहभागी हुनेछन्। साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान का प्रतिनिधिहरूसँग समेत छलफल हुने कार्यक्रम तय गरिएको छ।
सरकारले उच्च शिक्षा क्षेत्रका समस्या समाधान, सुधारका प्राथमिकता निर्धारण तथा संस्थागत सुदृढीकरणका विषयमा साझा धारणा निर्माण गर्न यो बैठकलाई महत्वपूर्ण मानिएको छ।