२०८३ साउन ९ शनिबार

टोरन्टो सिटी हलमा नेपाली झण्डा फहराउँदै ‘नेपाली हेरिटेज वीक’ घोषणा

ई आर्थिक    बिहिबार, बैशाख ३ २०८३
2.5K
Shares
टोरन्टो सिटी हलमा नेपाली झण्डा फहराउँदै ‘नेपाली हेरिटेज वीक’ घोषणा

क्यानडामा नेपाली समुदायको सांस्कृतिक पहिचानलाई औपचारिक मान्यता

टोरन्टो : टोरन्टो सिटी हलमा नेपाली झण्डा फहराउने विशेष समारोहबीच ‘नेपाली हेरिटेज वीक’ को औपचारिक घोषणा गरिएको छ। नेपाली समुदायका लागि ऐतिहासिक तथा गौरवपूर्ण मानिएको उक्त कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी ओन्टारियोकी सांसद क्रिस्टिन वोंग–टामले नेपाली समुदायप्रति सम्मान व्यक्त गर्दै क्यानडाको बहुसांस्कृतिक समाजमा नेपालीहरूको योगदान उल्लेखनीय रहेको बताइन्। उनले यस्ता सांस्कृतिक पहलहरूले विभिन्न समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिन्।

त्यसैगरी प्रमुख अतिथि काउन्सिलर नीथन शनले नेपाली समुदायको सक्रियता, एकता र सांस्कृतिक पहिचानको प्रशंसा गर्दै टोरन्टोमा ‘नेपाली हेरिटेज वीक’ घोषणा गर्न पाउँदा गर्व लागेको बताए। उनले आगामी दिनमा पनि नेपाली समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रमका क्रममा टोरन्टो शहरकी मेयर ओलिभिया चाउद्वारा जारी गरिएको प्रोक्लामेसन काउन्सिलर शनमार्फत हस्तान्तरण गरिएको थियो। सोही अवसरमा ‘नेपाली हेरिटेज वीक’ को औपचारिक घोषणा गरिएको हो, जसले टोरन्टोमा नेपाली समुदायको सांस्कृतिक पहिचानलाई संस्थागत मान्यता दिएको छ।

उनले आफ्नो सम्बोधनका क्रममा अप्रिल महिनालाई ‘नेपाली हेरिटेज महिना’ का रूपमा विस्तार गर्ने पहलसमेत अघि बढाइएको जानकारी दिए।

कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा, एनसीसीएसका अध्यक्ष सुदर्शन सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए। एनसीसीएसका अध्यक्ष सापकोटाले ‘नेपाली हेरिटेज वीक’ को अवधारणा संस्थाबाट सुरु भए पनि यसको सफल कार्यान्वयन सम्पूर्ण समुदायको सहकार्यबाट सम्भव भएको बताए। साथै उनले यस पहललाई संघीय तहसम्म विस्तार गर्न संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रमको सञ्चालन एनसीसीएसका महासचिव टीकाराम पौड्यालले गरेका थिए भने सभापतित्व एनसीसीएसका अध्यक्ष विमल बस्नेतले गरेका थिए। बस्नेतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

टोरन्टोस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा समुदायबीचको एकता, सहकार्य र संस्थागत समन्वय झल्किएको थियो।

औपचारिक कार्यक्रमपछि सिटी हलको कमिटी कक्षमा स्वागत तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। समग्रमा, उक्त कार्यक्रमले टोरन्टोमा नेपाली समुदायको सांस्कृतिक पहिचान, ऐतिहासिक उपस्थिति तथा सामाजिक योगदानलाई नगरस्तरमै औपचारिक मान्यता दिलाउने महत्वपूर्ण उपलब्धि हासिल गरेको ठहर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij