काठमाडौँ : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालमा झण्डै ४२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि चैतसम्म ६१५ परियोजनामार्फत कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको हो।
विभागका तथ्याङ्क अनुसार चैत महिनामा मात्र ६१ वटा परियोजनामार्फत एक अर्ब १२ करोड २९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ, जुन अघिल्ला महिनाहरूको तुलनामा वृद्धि भएको देखिन्छ। यसअघि फागुनसम्म ५५४ परियोजनामार्फत ४० अर्ब ६६ करोड ९३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो।
नौ महिनाको अवधिमा नियमित प्रक्रियामार्फत १८९ परियोजनामा ३७ अर्ब ६९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने स्वचालित प्रणालीमार्फत ४२६ परियोजनामा चार अर्ब ९ करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ।
क्षेत्रगत रूपमा हेर्दा कृषिक्षेत्रमा सबैभन्दा बढी लगानी आकर्षित भएको छ। १६ परियोजनामा २२ अर्ब ८८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रमा १६४ परियोजनामा ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ, सेवा क्षेत्रमा ४७ परियोजनामा तीन अर्ब ८९ करोड ६४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
त्यसैगरी सूचना प्रविधि क्षेत्रमा ३४६ परियोजनामार्फत एक अर्ब ४५ करोड ७२ लाख रुपैयाँ, खनिज क्षेत्रमा दुई परियोजनामार्फत ११ करोड ५० लाख रुपैयाँ तथा ऊर्जा क्षेत्रमा दुई परियोजनामार्फत २३ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। पूर्वाधार क्षेत्रमा भने कुनै पनि लगानी प्रतिबद्धता आएको छैन।
विभागका अनुसार चैतसम्मको लगानी प्रतिबद्धताबाट करिब २२ हजार ३०० जनाले रोजगारी पाउने अनुमान गरिएको छ।