२०८३ भाद्र २९ सोमबार

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यक्रम स्थगित

ई आर्थिक    बिहिबार, चैत्र २६ २०८२
1.6K
Shares
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यक्रम स्थगित

सदस्यता विवादका कारण महासङ्घको साधारण सभा अन्तिम समयमा रोकिएको हो

काठमाडौँ : काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारण सभा अन्तिम समयमा स्थगित गरिएको छ। चैत २९ र ३० गतेका लागि तय गरिएको साधारण सभा उच्च अदालत पाटनको अन्तरिम आदेशपछि रोकिएको हो।

अदालतको आदेशअनुसार महासङ्घको निर्वाचन कमिटीले सूचना जारी गर्दै साधारण सभा स्थगित गरिएको जनाएको छ। सदस्यता सम्बन्धी विवाद टुङ्गो नलागेसम्म अब साधारण सभा तथा निर्वाचन प्रक्रिया अघि नबढ्ने भएको छ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घसमेतको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो।

यसअघि अदालतले चैत २३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। दुवै पक्षबीच भएको बहसपछि संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै सदस्यता सम्बन्धी निर्णय नभएसम्म साधारण सभा नगर्न आदेश दिएको छ।

रिट निवेदकले अघिल्लो वर्षको साधारण सभामा आफू सदस्य रहे पनि यसपटक सदस्यता नदिइएको भन्दै प्रक्रिया रोक्न माग गरेका थिए। साथै सदस्यता समितिको सिफारिसविपरीत महासङ्घको कार्यसमितिले निर्णय गरेको दाबी गर्दै उक्त निर्णय बदर गर्न पनि माग गरिएको छ।

उक्त वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका तय गरिएको थियो। सोहीअनुसार निर्वाचन कमिटीले तयारी अघि बढाइसकेको थियो भने व्यवसायीहरू विभिन्न प्यानल बनाएर चुनावी तयारीमा जुटेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij