२०८३ साउन १२ मंगलबार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना : डुडुवा शाखा नहर निर्माणले लियो गति, किसान उत्साहित

ई आर्थिक    बुधबार, चैत्र २५ २०८२
2K
Shares
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना : डुडुवा शाखा नहर निर्माणले लियो गति, किसान उत्साहित

नेपालगन्ज : राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहर निर्माण कार्यले पुनः तीव्रता पाएको छ। लामो समयदेखि प्राविधिक र कानुनी समस्याका कारण रोकिएको निर्माण कार्य अघि बढेसँगै स्थानीय किसान उत्साहित बनेका छन्।

आयोजनाका इन्जिनियर विकास विष्टका अनुसार नहर निर्माणमा बाधा बनेका विद्युत पोल, भूमिगत केबल तथा खानेपानी पाइप व्यवस्थापन गरिसकिएकाले अहिले काम द्रुत गतिमा भइरहेको छ। २३.४ किलोमिटर लम्बाइको यस नहरबाट करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने लक्ष्य राखिएको छ।

खजुरा र मानपुर शाखासहित व्यापक सिँचाइ विस्तार

डुडुवा नहरअन्तर्गत खजुरा र मानपुर दुई प्रमुख शाखा निर्माण गरिनेछ। यसअघि ठेक्का विवादका कारण लामो समयसम्म रोकिएको परियोजनालाई पुरानो ठेक्का रद्द गरी नयाँ कम्पनीमार्फत अघि बढाइएको हो।

नेपालगन्ज–सुर्खेत सडक खण्डको पिप्रहवादेखि राँझासम्म करिब ५ किलोमिटर क्षेत्रमा टनेलमार्फत नहर निर्माण गरिनेछ भने बाँकी भाग खुला संरचनामा निर्माण हुने योजना छ।

एक अर्बभन्दा बढी लागत, तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य

रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले करिब एक अर्ब १२ करोड रुपैयाँ लागतमा नहर निर्माणको जिम्मा पाएको छ। कम्पनीका अनुसार हालसम्म २६ प्रतिशत भौतिक प्रगति भइसकेको छ भने असार मसान्तसम्म ४० प्रतिशत प्रगति पुर्‍याउने लक्ष्य राखिएको छ।

चार क्षेत्रमा वर्षभरि सिँचाइ सुविधा पुग्ने अपेक्षा

आयोजना प्रमुख राजु आचार्यले सम्बन्धित निकायहरूसँग समन्वय गरेर निर्माणका अवरोध हटाइएको जानकारी दिए। नहर सम्पन्न भएपछि डुडुवा, खजुरा, नेपालगन्ज र जानकी क्षेत्रका किसानले वर्षभरि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको छ।

यस आयोजनाले कृषि उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij