काठमाडौं । शैक्षिक सत्र सुरु हुनु अघि नै विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क उठाउने विद्यालयहरूप्रति सरकारले कडाइ गर्ने संकेत दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्ता गतिविधि बढ्दै गएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराउँदै तत्काल नियन्त्रणका लागि पहल थालेको हो। मन्त्रालयका अनुसार विभिन्न माध्यमबाट सत्र सुरु हुनुअघि नै भर्ना लिने र अभिभावकबाट अग्रिम रकम असुल्ने गुनासो प्राप्त भइरहेका छन्।
विद्यमान कानुनी व्यवस्थाअनुसार शैक्षिक सत्र सुरु नभएसम्म भर्ना प्रक्रिया सञ्चालन गर्न पाइँदैन। साथै, विद्यार्थी भर्ना भएपछि मात्र तोकिएको शीर्षकमा स्वीकृत शुल्क लिन पाइने व्यवस्था छ।
तर व्यवहारमा भने कतिपय विद्यालयले स्वीकृतभन्दा बढी शुल्क लिने, फरक–फरक शीर्षक बनाएर रकम असुल्ने तथा एउटै विद्यार्थीबाट पटक–पटक भर्ना शुल्क लिने जस्ता कार्य गरिरहेको पाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले नियमविपरीत उठाइएको शुल्क तत्काल फिर्ता गर्न र यस्ता कार्य रोक्न स्थानीय तहलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ। साथै, अनुगमनलाई प्रभावकारी बनाउँदै दोषी विद्यालयलाई कानुनअनुसार कारबाही गर्नसमेत निर्देशन दिइएको छ।
सरकारले शिक्षा क्षेत्रमा पारदर्शिता र अनुशासन कायम गर्न यस्तो कदम चालिएको जनाएको छ।
