काठमाडौँ । नेपाल सरकारले वैदेशिक अनुदान तथा ऋण व्यवस्थापनका महत्वपूर्ण निर्णयसँगै सरकारी कार्यालयमा साताको दुई दिन सार्वजनिक बिदा दिने नीति अघि बढाएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी कुल ९० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो।
यो रकम ‘डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट’ कार्यान्वयनका लागि प्रयोग गरिनेछ। साथै, ‘दिगो र समावेशी वित्त परियोजना’ का लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण पनि सरकारले स्वीकृत गरेको छ।
यसैबीच, पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता तथा इन्धन खपत घटाउने उद्देश्यले सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आगामी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिइनेछ।
नयाँ व्यवस्थाअनुसार सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। यद्यपि, शैक्षिक संस्थाहरूका लागि भने यो समय तालिका लागू नहुने जनाइएको छ।
बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पनि स्वीकृति दिएको छ। त्यस्तै, राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी दिइएको छ।
पर्यावरण संरक्षणलाई ध्यानमा राख्दै डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ। आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय समेत बैठकले गरेको छ।
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयमा भने आगामी मन्त्रिपरिषद् बैठकमा छलफल हुने प्रवक्ता पोखरेलले बताएका छन्।
यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु
१. एशियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर, जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
२. दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
३. नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने।
४. राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गर्ने।
५. पेट्रोलियम आपूर्तीमा समस्या उत्पन्न भएका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने।
६. शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय बिहान ९ बजे देखि बेलुका ५ बजे कायम गर्ने।
७. डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने।
८. आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने।