काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
अर्याललाई सभामुखमा निर्वाचित गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्यसमेत रहेका अर्याल काठमाडौँ–९ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। उनी यसअघि पार्टीको उपसभापतिको जिम्मेवारीमा रहेका थिए।