उच्च अदालतको आदेश भन्दै प्रहरीले गरायो कार्यालय खाली, कर्मचारीमाथि दुर्व्यवहारको आरोप
काठमाडौं: भारतको नयाँ दिल्लीस्थित United News of India (यूएनआई) को कार्यालय सिल गरिएको घटनाले मिडिया स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ।
समाचार एजेन्सी Press Trust of India (पीटीआई) का अनुसार, दिल्ली प्रहरीले शुक्रबार उच्च अदालतको आदेशको हवाला दिँदै यूएनआईको कार्यालय सिल गरेको हो।
यूएनआईका एक वरिष्ठ कर्मचारीले पीटीआईसँग कुरा गर्दै बताएअनुसार, बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका कर्मचारीहरू कार्यालयमा पुगेका थिए। उनीहरूले लिज अवधि समाप्त भएको भन्दै तत्काल भवन खाली गर्न निर्देशन दिएका थिए।
कर्मचारीका अनुसार, सरकारी टोली न्युजरूमभित्र प्रवेश गरी पत्रकार तथा कर्मचारीहरूलाई जबरजस्ती बाहिर निकालिएको थियो।
यूएनआईले सामाजिक सञ्जाल X मार्फत कार्यालय सिल गरिएको जानकारी सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा यूएनआई परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ देखिन्छन्। भिडियोहरूमा सुरक्षाकर्मीहरूले पत्रकार तथा कर्मचारीहरूलाई कार्यालय खाली गर्न निर्देशन दिइरहेको सुनिन्छ।
यूएनआईले आफ्नो पोस्टमा देशकै पुरानो र प्रतिष्ठित समाचार एजेन्सीमध्ये एकको कार्यालय सिल गरिनुले प्रेस स्वतन्त्रतामाथि गम्भीर चिन्ता उत्पन्न भएको उल्लेख गरेको छ।
एजेन्सीले कर्मचारीहरूलाई जबरजस्ती बाहिर निकालिएको, निजी सामानसमेत लैजान नदिएको र कार्यालय खाली गराउने क्रममा दुर्व्यवहार गरिएको आरोप लगाएको छ। यससम्बन्धी भिडियोसमेत सार्वजनिक गरिएको छ, जसमा कर्मचारीहरू आफूहरूमाथि धक्कामुक्की भएको दाबी गरिरहेका देखिन्छन्।
यसैबीच, अंग्रेजी दैनिक The Statesman ले उक्त घटनालाई भारतमा मिडिया स्वतन्त्रतामाथिको अभूतपूर्व हमला भन्दै कडा आलोचना गरेको छ। अखबारले कर्मचारीहरूलाई सामान समेट्ने समयसमेत नदिइएको उल्लेख गरेको छ।