२०८३ साउन १० आइतबार

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

ई आर्थिक    मंगलबार, चैत्र ३ २०८२
2.5K
Shares
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

काठमाडौं ।  उज्यालो नेपाल पार्टीले जेन जी आन्दोलनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेको छ।

पार्टीका प्रवक्ता डा. राजु थापाद्वारा जारी विज्ञप्तिमा आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको अवस्थामा समेत सार्वजनिक नगरिनु दुःखद, चिन्ताजनक र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा यस्ता संवेदनशील घटनासँग सम्बन्धित प्रतिवेदन सार्वजनिक नहुँदा नागरिक तहमा अन्योल, शंका, असन्तोष तथा राज्यप्रतिको अविश्वास बढ्ने खतरा औंल्याइएको छ। पीडित, घाइते, मृतकका परिवार तथा आन्दोलनसँग जोडिएका नागरिकले सत्य, न्याय र जवाफदेहिताको अपेक्षा गरिरहेका बेला प्रतिवेदन गोप्य राखिनु अनुचित भएको पार्टीको भनाइ छ।

उज्यालो नेपाल पार्टीले सत्य सार्वजनिक नगरी स्थायित्व सम्भव नहुने भन्दै प्रतिवेदन सार्वजनिक गर्नु न्याय, सुधार र सामाजिक विश्वासको आधार हुने उल्लेख गरेको छ। साथै, जाँचबुझ आयोगको प्रतिवेदनलाई केवल औपचारिक कागजपत्र नभई सार्वजनिक सरोकार, जिम्मेवारी निर्धारण तथा न्यायिक प्रक्रियाको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने जोड दिइएको छ।

यसै सन्दर्भमा पार्टीले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको छः
१. गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस्।
२. प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भए त्यसबारे स्पष्ट आधिकारिक जानकारी र समयसीमा सार्वजनिक गरियोस्।
३. प्रतिवेदनका निष्कर्ष र सिफारिसका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष, पारदर्शी र कानूनसम्मत प्रक्रिया तत्काल अघि बढाइयोस्।
४. पीडित, घाइते, मृतकका परिवार तथा प्रभावित समुदायलाई सत्य, न्याय र परिपूरणको अनुभूति हुनेगरी आवश्यक निर्णय गरियोस्।
५. भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको आचरण, भीड व्यवस्थापन, आदेश प्रणाली, मानव अधिकार संरक्षण तथा नागरिक स्वतन्त्रताको प्रत्याभूति सम्बन्धी स्पष्ट सुधारात्मक योजना सार्वजनिक गरियोस्।

उज्यालो नेपाल पार्टीले यस विषयलाई लोकतान्त्रिक शासन, सार्वजनिक उत्तरदायित्व, नागरिक विश्वास र न्यायिक नैतिकतासँग जोडिएको गम्भीर मुद्दाका रूपमा लिँदै सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij