अबुधाबी । इरानबाट प्रक्षेपण गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण संयुक्त अरब इमिरेट्स (युएई) मा फेब्रुअरी २८ यता कम्तीमा ७ जनाको मृत्यु भएको छ भने १४५ जना घाइते भएका छन्।
युएई रक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको जानकारीअनुसार मृतकमध्ये २ जना सैनिक र ५ जना सर्वसाधारण रहेका छन्।
मन्त्रालयका अनुसार सो अवधिमा युएई सुरक्षा बलले ३०४ वटा ब्यालिस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र १६२७ वटा ड्रोन ‘इन्टरसेप्ट’ गरी नष्ट गरेको जनाएको छ।
सोमबार मात्रै पनि ६ वटा ब्यालिस्टिक मिसाइल र २१ वटा ड्रोन आक्रमण भएको जनाइएको छ। ती आक्रमणका कारण अबुधाबी, दुबई, फुजैराह र उम्म अल क्वैन क्षेत्रमा क्षति पुगेको छ।
अबुधाबीको अल बह्याह क्षेत्रमा मिसाइल प्रहार हुँदा एक नागरिक सवारी साधन नष्ट भएको र त्यस क्रममा एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाइएको छ।
यस्तै, दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण हुँदा इन्धन ट्याङ्कमा आगलागी भएको थियो। उक्त घटनापछि केही समयका लागि उडान सेवा रोकिएको थियो।
फुजैराहस्थित तेल उद्योग क्षेत्रमा पनि आगलागी भएको भए पनि त्यहाँ कुनै मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ।
युएई रक्षा मन्त्रालयले सम्भावित थप आक्रमणको जोखिमलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता अपनाइएको जनाएको छ।