ई–आर्थिक, काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फबाट पठाइने सांसदहरूको नामावलीलाई अन्तिम रूप दिएको छ। पार्टीको सचिवालय बैठकले समावेशी सिद्धान्त र विभिन्न क्लस्टरका आधारमा उम्मेदवारहरूको नाम टुंग्याएको हो।
पार्टी सचिव महेश बस्नेतका अनुसार समानुपातिक प्रणालीअन्तर्गत प्राप्त सिटहरूलाई समावेशी प्रतिनिधित्वका आधारमा बाँडफाँट गर्दै सांसदहरूको नाम छनोट गरिएको हो।
एमालेले खस आर्य समूहबाट ५ जनालाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ। यस क्लस्टरमा महिलातर्फ पूर्वमन्त्री पद्यमा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल परेका छन्। पुरुषतर्फ भने गुरु प्रसाद बराल र पुष्पराज कंडेलको नाम तय गरिएको छ।
त्यस्तै, जनजाति क्लस्टरबाट ४ जना चयन भएका छन्। जसमा महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई सांसद बनाउने निर्णय भएको छ।
मधेसी समुदायबाट ३ जनाको नाम टुंगिएको छ। यसमा महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव छन् भने पुरुषतर्फ चन्द्रेश्वर मण्डललाई सांसद बनाउने निर्णय गरिएको छ।
त्यसैगरी दलित कोटाबाट विष्णुमाया वी.के. र नीता घटानी सांसद बन्ने भएका छन्। थारु समुदायबाट कृपाराम राणा तथा मुस्लिम कोटाबाट साजिदा सिद्दीकीको नाम पनि समानुपातिक सूचीमा समेटिएको एमालेले जनाएको छ।