काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री कुलमान घिसिङले पार्टीका उम्मेदवारलाई मतदान गर्ने र सद्भाव राख्ने सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
घिसिङले भने, “यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र थिएन, यो भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसर थियो।” उनले मत परिणामअनुसार पार्टीले अपेक्षित जित हासिल नगरे पनि जनताको माया, विश्वास र सद्भावलाई ठूलो ऊर्जा र मार्गदर्शनको रूपमा लिएको बताए।
अध्यक्ष घिसिङले आफ्नो नेतृत्वमा सरकारले विद्युत, जलस्रोत, शहरी विकास र पूर्वाधार क्षेत्रमा गरेका कामहरूको उदाहरण पनि प्रस्तुत गर्दै १८ घण्टासम्मको लोडसेडिङ अन्त्य, विद्युत उत्पादनमा सुधार, मेलम्ची खानेपानी पुनः सञ्चालन र बाढी प्रभावित सडक पुनः सञ्चालनजस्ता उपलब्धिहरूको चर्चा गरे।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आगामी सरकार गठनमा सफलताको शुभकामना दिँदै भने कि, “सरकारबाट हुने राम्रा कामको समर्थन गर्नेछौं र गलत काम भएमा सडकबाट रचनात्मक खबरदारी जारी राख्नेछौं।” घिसिङले चुनावको परिणाम निराशाजनक नभई उज्यालो नेपाल निर्माण अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।