काठमाडौं । इरानको राष्ट्रिय सुरक्षा परिषद्ले राजधानी तेहरानका बासिन्दाहरूलाई सहर छोडेर अन्य सुरक्षित स्थानतर्फ जान सल्लाह दिएको छ। पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै परिषद्ले विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई सम्भव भएसम्म शान्त रहँदै अन्य सहर वा स्थानमा अस्थायी रूपमा स्थानान्तरण हुन आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “वर्तमान परिस्थितिका कारण, तपाईंहरूले सम्भव भएसम्म र शान्त रहँदै, यदि सक्षम हुनुहुन्छ भने अन्य ठाउँ वा सहरहरूमा यात्रा गर्नुपर्छ।”
पछिल्लो समय इजरायल र अमेरिकाले संयुक्त रूपमा हमला गरेपछि क्षेत्रीय तनाव चुलिएको छ। त्यसको प्रत्युत्तरस्वरूप इरानले पनि मध्यपूर्वका विभिन्न मुलुकलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अल जजिराका अनुसार तेहरान र आसपासका क्षेत्रमा करिब ९० लाखभन्दा बढी जनसंख्या बसोबास गर्दै आएका छन्। बढ्दो द्वन्द्वका कारण राजधानी क्षेत्रमा त्रासको वातावरण फैलिएको छ।
सुरक्षा निकायले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, आधिकारिक सूचना मात्रै अनुसरण गर्न तथा आपत्कालीन निर्देशनहरू पालना गर्न पनि आग्रह गरेको छ।