२०८३ साउन १० आइतबार

समृद्ध नवलपुर सम्मानित नवलपुरबासी निर्माणमा प्रतिबद्ध उम्मेद्वार महत, अधुरा योजनाहरूलाई सम्पन्न गर्ने र नयाँ दीर्घकालीन योजना अघि सार्ने

ई आर्थिक    बिहिबार, फाल्गुन १४ २०८२
2.8K
Shares
समृद्ध नवलपुर सम्मानित नवलपुरबासी निर्माणमा प्रतिबद्ध उम्मेद्वार महत, अधुरा योजनाहरूलाई सम्पन्न गर्ने र नयाँ दीर्घकालीन योजना अघि सार्ने

ई–आर्थिक, नवलपुर : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार  तिलबहादुर महत क्षेत्री  (तिलक)ले नवलपुरको समग्र विकासका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। एमालेको चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन् । आफ्नो चुनावी क्षेत्रका मतदाताहरुको समस्या बुझ्न घरदैलो गर्ने क्रममा उनले विगतमा सुरु गरिएका अधुरा योजनाहरूलाई सम्पन्न गर्ने र नयाँ दीर्घकालीन योजना अघि सार्ने प्रतिबद्धता पनि जनाए।

तिलबहादुरले आफ्नो पहिलो कार्यकालमा जिल्लामा थुप्रै महत्वपूर्ण योजना अघि बढाइएको उल्लेख गर्दै केही योजना सम्पन्न भइसकेको र केही कार्यान्वयनको चरणमा रहेको मतदाताहरुलाई जानकारी गराए । बाँकी योजनालाई समयमै पूरा गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी तथा समग्र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने उनको भनाइ थियो ।

समृद्ध नवलपुर सम्मानित नवलपुरबासी निर्माणको लक्ष्यमा आफ्नो दृढ संकल्प रहेको उनले बताए ।

‘म सधैँ जनताकै बीचमा छु। जनताको चाहना र आवश्यकताअनुसार काम गर्न प्रतिबद्ध छु,’ महतले भने, ‘अघिल्लो कार्यकालमा सुरु गरिएका योजनालाई पूर्णता दिनुका साथै नवलपुरको भविष्यसँग जोडिएका नयाँ योजना अघि सार्ने मेरो लक्ष्य छ ।’

घरदैलो अभियान तीव्र

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेद्वार महतले नवलपुर–२ का ४० वटै वडामा सुरु गरिएको घरदैलो तथा चुनाव प्रचार अभियान तीव्र बनाएको जनाएका छन् । निर्वाचन आयोगले औपचारिक प्रचार अवधि सुरु गरेसँगै नेता–कार्यकर्ता गाउँ–टोलमा केन्द्रित हुँदै घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

घरदैलो भेटघाटका क्रममा उम्मेदवार महत स्वयं मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन् । पार्टीले उनलाई इमानदार, विकासप्रेमी तथा सबै वर्ग–समुदायको साझा प्रतिनिधित्व गर्न सक्ने सक्षम नेताका रूपमा प्रस्तुत गरेको छ । विगतमा निर्वाह गरेको जिम्मेवारी, सार्वजनिक जीवनमा कायम छवि र जनतासँगको निरन्तर सम्पर्कलाई आधार बनाएर प्रचारलाई तीव्र बनाइएको पार्टी स्रोतले जानकारी दिएको छ ।

मतदाताको बढ्दो समर्थन

स्थानीय मतदाताहरूले महतलाई स्पष्ट दृष्टिकोण र विकासप्रति दृढ अठोट भएका नेताका रूपमा लिएको प्रतिक्रिया दिएका छन् । अधुरा योजना सम्पन्न गर्न र जिल्लाको आवाज सशक्त रूपमा सदनमा उठाउन सक्ने उम्मेदवारका रूपमा उनको चर्चा भइरहेको छ।

‘एक कार्यकालमा सम्झनलायक कामको थालनी भयो, अब अधुरा योजना पूरा गर्न फेरि उहाँकै आवश्यकता छ,’ स्थानीय मतदाता चन्द्रकला भुषालले प्रतिक्रिया दिइन् ।

अर्का मतदाता राजन पौडेलले महत सरल, मिजासिलो र सबै पुस्तासँग सहज संवाद गर्न सक्ने नेता भएको प्रतिक्रिया दिएका छन् । युवा, महिला, किसानदेखि ज्येष्ठ नागरिकसम्मको आवाज समेट्न सक्ने समावेशी नेतृत्व उनको विशेषता रहेको पौडेलको भनाई छ ।

‘एमाले विना समृद्धि सम्भव छैन’

महतले देशको समृद्धि नेपाल कम्युनिस्ट पार्टी (एमाले) विना सम्भव नभएको दाबी गरे । तराईदेखि हिमालसम्म सडक, पुल, सुरुङमार्ग, फ्लाइओभर, सिँचाइ तथा अन्य भौतिक पूर्वाधार निर्माणमा एमाले सरकारको भूमिका रहेको उनले उल्लेख गरे । शिक्षा, स्वास्थ्य, खेलकुद तथा आर्थिक पूर्वाधार सुदृढीकरणमा पार्टीले महत्वपूर्ण काम गरेको दाबी गर्दै उनले सूर्य चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरे।

नवलपुर–२ मा बढ्दो जनसमर्थनसँगै महतको पक्षमा चुनावी माहोल उत्साहजनक बन्दै गएको एमाले नवलपरले जनाएको छ । मतदाताको अपार माया र सद्भावले आफ्नो पक्षमै परिणाम आउने उम्मेद्वार महतले दाबी गरे ।

को हुन उम्मेद्वार तिलबहादुर महत क्षेत्री ?

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं नवलपुर जिल्ला इन्चार्ज तिलबहादुर महत क्षेत्री क्षेत्र नम्बर-२ का उम्मेदवार हुन् । २०२४ जेठ १२ गते गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर-२ मा जन्मिएका महत कावासोती नगरपालिका-३ का बासिन्दा हुन् ।

२०४२ सालमा बसाइ सरेर नवलपुरको कावासोती झरेका महतले कुमारवर्ती बहुमुखी क्यापस, कावासोतीबाट स्नातकसम्म अध्ययन गरेका छन् ।

अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनी अनेरास्ववियु नवलपरासीको दुई पटक अध्यक्ष र केन्द्रीय कमिटी सदस्य भए । उनी दुई पटकसम्म जिल्ला कमिटी अध्यक्ष समेत भए ।

२०७० सालदेखि भने उनको केन्द्रीय तहको राजनीति सुरु भएको हो । २०७१ सालमा काठमाडौंमा भएको ९औं महाधिवेशनबाट उनी लुम्बिनी अञ्चल भूगोल तर्फबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भए ।

२०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि उनी केन्द्रीय कमिटी सदस्य नै बने । चितवनमा भएको १०औं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय कमिटी सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज भए । ११औं महाधिवेशनबाट उनी पुनः केन्द्रीय कमिटी सदस्यका साथै नवलपुर जिल्ला इन्चार्ज भए ।

महत प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेस्रो पटक उम्मेदवार बनेका हुन् । २०७४ सालमा उनले नेपाली कांग्रेसका विष्णुकुमार कार्कीलाई पराजित गरे । ३९ हजार ५३ मत ल्याएर विजयी हुँदा महतका निकटतम प्रतिद्वन्दी कांग्रेसका कार्कीले ३७ हजार ७ सय २० मत ल्याएका थिए ।

त्यस्तै २०७९ सालमा भएको निर्वाचनमा उनी कार्कीसँग पराजित भए । कार्कीले ३६ हजार १ सय ३२ मत ल्याएर विजयी हुँदा उनले ३४ हजार १ सय १० मत ल्याएर दोस्रो भए ।

आफूले सुरु गरेका अधुरा कामहरू पूरा गर्न उम्मेदवारी दिएको उनी बताउँछन् । नदी तटबन्धन, मध्यवर्ती क्षेत्रका समस्या र पर्यटन विकासलाई जोड्दै समृद्ध नवलपुर बनाउने योजनाका साथ आफू तेस्रो पटक चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij