काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले आफ्नो दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोना श्रेष्ठलाई नियुक्त गरेको छ। मनिलास्थित मुख्यालयले जारी गरेको जानकारीअनुसार उनले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति तथा कार्यक्रमहरूको नेतृत्व गर्नेछिन्।
नियुक्तिपछि श्रेष्ठले दक्षिण एसियामा समावेशी र दिगो विकास प्रवर्द्धनका लागि सदस्य राष्ट्रहरूसँग सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
२७ वर्षभन्दा बढी व्यावसायिक अनुभव भएकी श्रेष्ठले करिब २३ वर्ष एडीबीमै विभिन्न जिम्मेवारी सम्हालेकी छन्। यसअघि उनी सोही विभागकी उपमहानिर्देशक थिइन्। उनले स्वतन्त्र मूल्याङ्कन, वित्तीय क्षेत्र तथा व्यापार, र विभिन्न देशीय कार्यालयहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन्।
अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेकी श्रेष्ठले अमेरिकास्थित क्यालिफोर्निया विश्वविद्यालयबाट स्नातकोत्तर र विद्यावारिधि तथा स्मिथ कलेजबाट स्नातक उपाधि प्राप्त गरेकी हुन्।
सन् १९६६ मा स्थापना भएको एडीबी एशिया–प्रशान्त क्षेत्रमा समावेशी र दिगो आर्थिक विकासका लागि कार्यरत बहुपक्षीय विकास बैंक हो, जसमा ६९ सदस्य राष्ट्र आबद्ध छन्।