काठमाडौं । प्रभु बैंक लिमिटेडले सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।
बैंकका अनुसार माघ २० गते बसेको सञ्चालक समितिको ४१०औँ बैठकले निर्णय गरी काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका–८ निवासी शर्मालाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो। उनको नियुक्ति माघ २० गतेदेखि लागू हुने बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त प्रभु बैंकले उक्त निर्णयबारे नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई औपचारिक रूपमा जानकारी गराइसकेको छ।
प्रभु बैंकले देशभर शाखा सञ्जाल विस्तार गर्दै बैंकिङ सेवा प्रदान गर्दै आएको छ। प्रभु बैंकक सीईओ असोजक शेरचनले राजीनामा दिसकेका छन् । यसअघि माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत गरेको थियो।
नवनियुक्त सीईओ शर्मा यसअघि सनराइज बैंकमा सीईओ रहेका थिए। यस्तै उनले ग्लोबल आइएमई बैंकमा डिसिईओ र माछापुच्छ्रे बैंकमा सीईओ भएर काम गरेका छन्। शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर हासिल गरेका छन् ।
