ई–आर्थिक, काठमाडौं । जसपा नेपालका पूर्व केन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । सेयर कारोवारका विषयमा केही समय अघि विवादित बनेर थुनामा समेत परेका अग्रवालसहितलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।
सो स्वागत कार्यक्रममा आगामी प्रधानमन्त्रीका अन्य दावेदारहरूसँग सार्वजनिक बहस (पब्लिक डिबेट) गर्न आफू पूर्ण रूपमा तयार रहेको ओलीले बताए ।
पार्टी प्रवेश कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीका आकांक्षीहरूबीच खुला बहस हुनु आवश्यक रहेको बताएका हुन्।
सञ्चारकर्मीले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग सार्वजनिक संवादका लागि तयार हो ? भनी सोधेको प्रश्नमा ओलीले सकारात्मक जवाफ दिए।
उनले भने, ‘वास्तवमा प्रधानमन्त्रीको क्यान्डिडेट हुँ भन्नेहरूका बीचमा संवाद कार्यक्रम राख्नु र एउटा पब्लिक डिबेट, ओपन र लाइभ गर्नु आवश्यक छ।’ अध्यक्ष ओलीले थपे, ‘किन प्रधानमन्त्री हुनुपर्ने ? के गर्नलाई प्रधानमन्त्री हुनुपर्ने ? आदि कुराहरू त छलफल हुनुपर्यो नि !’
डिबेटका लागि तयार हो ? भन्ने पूरक प्रश्नमा उनले आफू तयार रहेको स्पष्ट पारे।
नेकपा एमालेले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। उता नेपाली कांग्रेसबाट सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।
यसै सन्दर्भमा सामाजिक सञ्जालमा पनि आम सर्वसाधारणले यी तीनै जनालाई एउटै मञ्चमा राखेर प्रत्यक्ष बहस (लाइभ डिबेट) गराउनुपर्ने माग राख्दै आएका छन्।
जनताले भावी प्रधानमन्त्रीका उम्मेदवारहरूको भिजन र कार्ययोजना सुन्न चाहेको प्रतिक्रिया दिइरहँदा अध्यक्ष ओलीले यसलाई स्वीकार गरेका हुन्।