काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारले करिब दुई खर्ब रुपैयाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यो वार्षिक बजेट लक्ष्यको ९.४१ प्रतिशत हो।
सरकारले सबैभन्दा बढी चालुतर्फको बजेट खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएकोमा भदौ मसान्तसम्म एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख रुपैयाँ खर्च भएको छ। यो कुल विनियोजनको ९.६ प्रतिशत हो।
त्यस्तै, पुँजीगत खर्च भने निकै न्यून देखिएको छ। चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकोमा दुई महिनाको अवधिमा सात अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्रै खर्च भएको छ। यो वार्षिक लक्ष्यको १.७८ प्रतिशत हो।
वित्तीय व्यवस्थातर्फ भने सरकारले ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ। यस शीर्षकमा चालु आर्थिक वर्षका लागि चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ। हालसम्मको खर्च १६.५९ प्रतिशत हो।
सरकारको खर्च बढे पनि सोही अनुपातमा आम्दानी भने हुन सकेको छैन। भदौ मसान्तसम्म कुल राजस्व संकलन एक खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ पुगेको छ। यो वार्षिक राजस्व लक्ष्यको ११.५८ प्रतिशत हो।
पहिलो दुई महिनामा सरकारको खर्च आम्दानीभन्दा करिब नौ अर्ब ७२ करोड रुपैयाँ बढी देखिएको छ।
कर राजस्वतर्फ चालु आर्थिक वर्षमा १४ खर्ब तीन अर्ब ३१ करोड ८३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। भदौ मसान्तसम्म एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ कर राजस्व संकलन भएको छ। यो वार्षिक लक्ष्यको १२.२९ प्रतिशत हो।
गैरकर राजस्वतर्फ भने एक खर्ब ७७ अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकोमा दुई महिनामा १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको ६.९ प्रतिशत हो।
यसैगरी, सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ। भदौ मसान्तसम्म पाँच अर्ब ५३ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। यो वार्षिक लक्ष्यको ८.९६ प्रतिशत हो।