कपिलवस्तु : तस्करी गरी नेपाल भित्र्याइएको भारतीय १८१ बोरा युरिया मल प्लाइ उद्योगको हाताभित्रबाट बरामद भएपछि जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिविरुद्ध चोरीपैठारीसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको परिसरमा कृष्णनगर भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले छापा हानी सो परिमाणको युरिया मल बरामद गरेको हो। कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी मन्केश कुमार कर्णका अनुसार भन्सार ऐन २०८२ अनुसार उद्योगविरुद्ध मुद्दा चलाइएको छ।
घटनाको थप अनुसन्धानका लागि भन्सार अधिकृत पदमराज पन्तको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको र अनुसन्धान जारी रहेको सूचना अधिकारी कर्णले जानकारी दिए।
गत मंसिर २९ गते प्राप्त सुराकीका आधारमा प्लाइ उद्योगमा पुगेको संयुक्त टोलीले उद्योगभित्र लुकाइ राखिएको अवस्थामा युरिया मल बरामद गरेको थियो। बरामद मलका सम्बन्धमा भन्सार कार्यालयले उद्योगलाई उपस्थित हुन निर्देशन दिएको थियो। सोहीअनुसार उद्योगका मालिक विजय कनौडिया भन्सार कार्यालयमा उपस्थित भई बयान दिएका थिए।
भन्सार कार्यालयले कनौडियासँग १ लाख ८१ हजार रुपैयाँ धरौटी माग गरेको र उनले उक्त धरौटी बुझाई बोलाएको बखत हाजिर हुने गरी लिखित प्रतिबद्धता जनाएको भन्सारले जनाएको छ।
स्रोतका अनुसार तस्करहरूले विभिन्न नाकामार्फत युरिया मल नेपाल भित्र्याई प्लाइ उद्योगहरूलाई बिक्री गर्ने गरेका छन्। चन्द्रौटादेखि कृष्णनगरसम्म रहेका करिब आठवटा प्लाइ उद्योगमा तस्करीको युरिया मल प्रयोग हुने गरेको बताइए पनि सुरक्षा निकायले भने कहिलेकाहीँ मात्र यस्तो मल बरामद गर्ने गरेका छन्। प्लाइ उद्योगमा युरिया मल गोंद (गम) का रूपमा प्रयोग गरिँदै आएको छ।