काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते दर्ता भएका उम्मेदवारमध्ये देशभरबाट ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विभिन्न जिल्लाबाट ४९ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्।
यसैबीच, पाँच जना उम्मेदवारविरुद्ध दाबी–विरोध परेको आयोगले जनाएको छ। दाबी–विरोधको छानबिनपछि एक जनाको उम्मेदवारी खारेज गरिएको आयोगको भनाइ छ।
आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीको उम्मेदवारी कानुनी आधार नपुगेको भन्दै खारेज गरिएको हो।
निर्वाचन आयोगले बाँकी उम्मेदवारको अन्तिम नामावली तोकिएको कार्यतालिका अनुसार सार्वजनिक गरिने जानकारी समेत दिएको छ।