२०८३ भाद्र ३१ बुधबार

नेकपा एमाले र नेपाल परिवार दलबीच चारबुँदे सहमतिमा हस्ताक्षर

ई आर्थिक    बुधबार, माघ ७ २०८२
3.5K
Shares
नेकपा एमाले र नेपाल परिवार दलबीच चारबुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं । आसन्न फागुन २१ गते हुने संघीय संसद्–प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा नेकपा एमाले र नेपाल परिवार दलबीच चारबुँदे सहमति भएको छ।

राष्ट्रियता, विकास, लोकतन्त्र, शान्ति र संविधानको संरक्षणका लागि भएको सहमतिअनुसार प्रतिनिधि सभा निर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्नेछ। बदलामा नेकपा एमालेले उपयुक्त समयमा नेपाल परिवार दलको प्रतिनिधित्व संघीय संसद् तथा प्रदेश सभामा गराउने सहमति भएको छ।

सहमति अनुसार संसद् बाहिर नेपाल परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व रहनेछ भने संसद् भित्र भने परिवार दल नेकपा एमालेको संसदीय दलमा आबद्ध रहनेछ। सहमति पत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा पूरा गर्न सम्पूर्ण देशभक्त, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरूलाई नेकपा एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न एकजुट हुन आह्वान गरिएको छ।

सहमति पत्रमा उल्लेख नभएका विषयहरू आपसी छलफल र सहमतिमार्फत टुंगो लगाइने उल्लेख छ। सहमतिमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले हस्ताक्षर गरेका छन्।

ओली निवास, गुण्डुमा सम्पन्न हस्ताक्षर कार्यक्रममा नेपाल परिवार दलका अध्यक्ष ढकालसहित महामन्त्री प्रकाश बाबु थापा, सभासद मिलन राजवंशी, सह–महामन्त्रीद्वय डा. रूपसिंह भण्डारी र मनोज कुमार सुर्खेतीको उपस्थिति थियो।

नेपाल परिवार दल २०७४ सालदेखि निरन्तर नेकपा एमालेसँग सहकार्य गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij