२०८३ असोज १ बिहिबार

सुनचाँदीको मूल्य हालसम्मै उच्च, सुन प्रतितोला २ लाख ८४ हजार ७०० पुग्यो

ई आर्थिक    मंगलबार, माघ ६ २०८२
2.7K
Shares
सुनचाँदीको मूल्य हालसम्मै उच्च, सुन प्रतितोला २ लाख ८४ हजार ७०० पुग्यो

काठमाडौं ।  नेपाली बजारमा सुन र चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। सोमबार नै उल्लेखनीय वृद्धि देखिएको सुनको मूल्य मंगलबार फेरि बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले वृद्धि भएर २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघिल्लो दिन सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो, जुन त्यसअघिको सबैभन्दा उच्च मूल्य थियो।

चाँदीको मूल्यमा पनि नयाँ कीर्तिमान कायम भएको छ। सोमबार प्रतितोला १ सय ८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ पुगेको चाँदी मंगलबार थप ७० रुपैयाँले बढ्दै ५ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो।

अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गएको भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर घट्न सक्ने अनुमान र विश्व वित्तीय बजारमा देखिएको अस्थिरताले सुनको मूल्य बढाउन सहयोग पुगेको विश्लेषकहरू बताउँछन्। पछिल्लो समय अमेरिकी डलरप्रतिको विश्वास कमजोर बन्दै गएको र विभिन्न देशका केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाउन थालेका कारण पनि सुनको माग बढेको जनाइएको छ।

नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको आधारमा निर्धारण गरिन्छ। विश्व बजारमा अघिल्लो दिन राति कायम भएको सुनको दरमा भन्सार शुल्क, बैंकिङ लागत, वैदेशिक विनिमय दर तथा व्यवसायीको नाफा जोडेर भोलिपल्टको मूल्य तय गर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij