काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्यमा नयाँ समायोजन गरेको छ। संघले अण्डा उत्पादक किसानहरूको सिफारिस अनुसार मूल्य बढाउने निर्णय गरेको जनाएको छ।
संघका अनुसार, माघ ४ गते बसेको कार्यसमितिको बैठकले माघ ५ गतेदेखि लागू हुने गरी चितवनलाई आधार मानी नयाँ मूल्य निर्धारण गरेको हो। संघले भनेको छ कि पछिल्लो समय दाना, औषधि, ढुवानी र श्रम खर्च बढेसँगै किसानहरूले आफ्नो उत्पादन लागत धान्न सक्नेगरी मूल्य समायोजन गरिएको हो।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको फार्म मूल्य प्रतिक्रेट ४८० रुपैयाँ, ठूलो अण्डाको ४६५ रुपैयाँ र मिडियम अण्डाको ४४५ रुपैयाँ कायम गरिएको छ। संघले चितवनबाट लोड भई देशभर अण्डा बिक्री–वितरण गर्दा दूरीअनुसार भाडा, कार्ड र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्ने स्पष्ट पारेको छ।
संघले नयाँ मूल्य कार्यान्वयन गर्न सबै किसान, संकलक, होलसेलर र खुद्रा व्यवसायीहरूको सहकार्य आवश्यक भएको र मूल्य पालना नगरी अनियमित कारोबार भएमा आवश्यक छलफल र कदम चालिने संकेत गरेको छ।