काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको समूहलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। सर्वोच्च अदालतले रिट दर्ता गर्दै रिटको पेसी यही माघ ६ गतेका लागि तोकेको छ ।
शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई कानुनी बाटोबाट चुनौती दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज देउवा पक्ष सर्वोच्च अदालत पुगेको हो।
बैठकले कानुनी प्रक्रिया अगाडि बढाउने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको थियो। खड्काले रिट निवेदन तयार पार्ने क्रममा कानुन व्यवसायीहरूसँग आवश्यक परामर्श गरिसकेको स्रोतले जनाएको छ।
रिट दायर गर्ने प्रक्रियामा वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायत कानुन व्यवसायीहरूको संलग्नता रहने बताइएको छ।
देउवा पक्षले गगन थापा र विश्वप्रकाश शर्मा समूहले आयोजना गरेको विशेष महाधिवेशनलाई अवैध ठहर गर्दै आएको छ। उक्त विशेष महाधिवेशनको कुनै औचित्य नभएको दाबी गर्दै देउवा समूहले त्यसबाट गठन भएको नेतृत्वलाई मान्यता दिन नहुने अडान लिँदै आएको छ।
निर्वाचन आयोगले भने विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको थियो। सो निर्णयपछि कांग्रेसभित्रको विवाद पुनः चर्किएको छ भने अब यो विषय न्यायालयको फैसला मार्फत टुंगो लाग्नेछ।