काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व र वैधानिकतासम्बन्धी विवाद औपचारिक रूपमा निर्वाचन आयोग पुगेको छ। पार्टीको विशेष महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगमा आधिकारिक दाबी प्रस्तुत गरेको छ।
देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरू शुक्रबार बिहानै कान्तिपथस्थित निर्वाचन आयोग पुगेका हुन्। उनीहरूले विशेष महाधिवेशन नहुनुका साथै गगनकुमार थापालाई सभापति चयन गरिएको दाबी असंवैधानिक रहेको जिकिर गर्दै सम्बन्धित कागजात आयोगमा बुझाएका छन्।
टोलीमा धनराज गुरुङ, बिमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेतलगायत केन्द्रीय सदस्य सहभागी थिए। देउवा पक्षले पार्टीको वैधानिक संरचना र निर्णय प्रक्रिया आफूहरूको नियन्त्रणमै रहेको दाबी गर्दै आयोगलाई हस्तक्षेप गर्न आग्रह गरेको बुझिएको छ।
यसैबीच, विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाको नेतृत्वमा रहेको नयाँ कार्यसमितिले पनि पार्टीका विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा गइसकेको छ । हिजो केन्द्रीय समितिको पहिलो बैठकले आवश्यक विवरण अद्यावधिक गर्ने निर्णय गरेपछि थापा, उपसभापति विश्वप्रकाश शर्मा र अन्य नेताहरू आयोग पुगेका थिए।
बुधबार सम्पन्न विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको भन्दै थापा पक्षले आफूहरू कानुनी प्रक्रिया अनुसार अघि बढेको दाबी गरेको छ।
कानुनअनुसार नयाँ कार्यसमिति चयन भएपछिका विवरण निर्वाचन आयोगमा अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था छ।
कांग्रेसका कानुनी सल्लाहकारका अनुसार थापा नेतृत्वको टोली बिहीबार मध्यान्ह आयोगमा उपस्थित हुने कार्यक्रम तय गरिएको छ। दुवै पक्षले आ–आफ्नो दाबी पेश गरेपछि अब नेपाली कांग्रेसको आधिकारिक नेतृत्वसम्बन्धी विवाद निर्वाचन आयोगको निर्णयमा निर्भर रहने देखिएको छ।