काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको १६औँ वार्षिक साधारण सभा आज (पौष ३० गते) काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्याण्ड एण्ड व्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाको उद्घाटन संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले दीप प्रज्वलन गरी गर्नुभएको थियो।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिएको छ। साथै बाह्य लेखापरीक्षकको नियुक्ति र वित्तीय संस्थाबीच गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी विषयमा आवश्यक निर्णय लिन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।
संस्थाले गत आर्थिक वर्षको तुलनामा चालु आवमा वित्तीय सूचकमा सुधार आएको जनाएको छ। निक्षेप १.०३ प्रतिशत वृद्धि भई ८६४ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ८.७० प्रतिशतले बढेर ७०९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, संस्थाको खुद मुनाफा ६१ प्रतिशत वृद्धि भई ६ करोड ८६ लाख रुपैयाँ पुगेको छ। कर्जा असुली प्रक्रिया योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाइएको संस्थाले जनाएको छ।
सभामा शेयरधनीहरूले वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै सुझाव प्रस्तुत गरेका थिए। साथै १० वर्षभन्दा बढी समय सञ्चालकको रूपमा योगदान पुर्याएका पूर्व सञ्चालक विष्णुमान जोशी तथा लामो समय सेवा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो। कार्यसम्पादनका आधारमा उत्कृष्ट तीन शाखा कार्यालयलाई समेत पुरस्कृत गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको रिलायन्स फाइनान्सले हाल देशका विभिन्न स्थानमा २१ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थाले निक्षेप, कर्जा, रेमिटेन्स, सी–आस्वा, मोबाइल तथा इन्टरनेट बैंकिङलगायतका सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।