काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारलाई नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ।
आयोगका अनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीमा समावेश उम्मेदवारले मिति २०८२ पुस २८ गते आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ ।
नाम फिर्ता लिन चाहने उम्मेदवारले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन आयोगको बहादुर भवनस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ। प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ अनुसारको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
आयोगले उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि नाम फिर्ता लिने निवेदन दिन सकिने जनाएको छ। यस सम्बन्धी सूचना निर्वाचन अधिकृत कृष्णबहादुर राउतले सार्वजनिक गरेका हुन्।
