२०८३ साउन १० आइतबार

स्वावलम्बन लघुवित्तको २३औँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

ई आर्थिक    शुक्रबार, पौस २५ २०८२
4K
Shares
स्वावलम्बन लघुवित्तको २३औँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं ।  स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औँ वार्षिक साधारण सभा कार्तिक ३० गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। संचालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले १४.२५ प्रतिशत बोनस सेयर तथा बोनस सेयरको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ९७ लाख ८३ हजार ८ सय ५६ रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। सभाले सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरणसमेत पारित गरेको छ।

संस्थाले चालु आर्थिक वर्षको असोज मसान्तसम्म देशका ६१ जिल्लामा रहेका १४५ शाखा तथा उपशाखा कार्यालय र ९ वटा इलाका कार्यालयमार्फत २ लाख ६१ हजार ७ सय ४५ महिला ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। सो अवधिमा संस्थाको कर्जा लगानी २१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ पुगेको छ भने सदस्यको बचत १४ अर्ब ३९ करोड १९ लाख रुपैयाँ रहेको छ।

राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा कारोबार गर्दै आएको स्वावलम्बन लघुवित्तले वित्तीय पहुँच कम भएका ग्रामीण तथा शहरी क्षेत्रमा सर्वसुलभ, गुणस्तरीय तथा ग्राहकमुखी सेवा विस्तार गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको जनाएको छ। सभाले संस्थाको जारी तथा चुक्ता पुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ कायम गर्ने प्रस्तावसमेत पारित गरेको छ।

साधारण सभाले संचालक समितिमा रिक्त हुने सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना संचालक पदमा  रविन कुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ। साथै, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि श्री सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

यसका अतिरिक्त, अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर वा प्राप्ति उपयुक्त देखिएमा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य अघि बढाउन संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij