काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशभर आज उम्मेदवारले आफ्नो मनोनयन दर्ता गर्ने भएका छन्। निर्वाचन आगामी माघ ११ गते हुँदैछ र राष्ट्रियसभामा रिक्त हुने १८ सिटका लागि मतादान हुनेछ।
निर्वाचन आयोगले यसअघि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने अन्तिम नामावली पनि सार्वजनिक भइसकेको छ। उम्मेदवारको मनोनयन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दर्ता हुने छ।
यसपछि पुस २४ गते मनोनयनविरुद्ध उजुरी दर्ता हुने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने र अन्तिम नामावली प्रकाशन हुने छ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गरिने छ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष मतदान गर्नेछन्।