२०८३ साउन ९ शनिबार

निर्वाचन तोकिएकै समयमा हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको दाबी

ई आर्थिक    बुधबार, पौस २३ २०८२
3.2K
Shares
निर्वाचन तोकिएकै समयमा हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको दाबी

ई–आर्थिक, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको पूर्ण प्रत्याभूति दिइसकेको र तोकिएको समयमै निर्वाचन सम्पन्न हुने स्पष्ट गर्नुभएको छ । निर्वाचन हुन्छ कि हुँदैन भन्ने जनस्तरमा उठिरहेको आशंकालाई चिर्दै निर्वाचन आयोग तयारीमा जुटिसकेको उहाँको भनाइ छ ।

निर्वाचन प्रशिक्षक प्रशिक्षणसम्बन्धी कार्यशालामा बोल्दै भण्डारीले निर्वाचनको कुनै विकल्प नभएको उल्लेख गर्दै ‘निर्वाचनको विकल्प निर्वाचन नै हो’ भन्ने सन्देश दोहोर्याउनुभयो । आयोगले निर्वाचन सुरक्षाका लागि सरकार तथा सम्बन्धित सबै निकायसँग निरन्तर समन्वय गरिरहेको उहाँले बताउनुभयो ।

विगतमा पनि निर्वाचनको विषयमा यस्तै संशय रहेको स्मरण गराउँदै भण्डारीले संविधानसभाको निर्वाचनसमेत अन्तिम समयसम्म शंकामै रहेको तर अन्ततः सफलतापूर्वक सम्पन्न भएको उदाहरण प्रस्तुत गर्नुभयो ।
“अघिल्लो दिनसम्म निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका थियो, तर भोलिपल्ट मतदान भयो र निर्वाचन सम्पन्न भयो,” उहाँले भन्नुभयो, “अहिले पनि त्यस्तै प्रश्न उठिरहेका छन्, तर निर्वाचन हुन्छ र हुन्छ नै ।”

जेन–जी विद्रोहपछि फरक राजनीतिक पृष्ठभूमिमा निर्वाचन हुन गइरहेको उल्लेख गर्दै भण्डारीले जुनसुकै परिस्थितिमा पनि निर्वाचन सम्पन्न गर्ने आयोगको दृढ अठोट रहेको बताउनुभयो ।

सरकारले निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै सातै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरिसकेको जानकारी पनि उहाँले दिनुभयो । साथै आयोगले प्रदेशका प्रमुख सचिव तथा सचिवहरूसँग परामर्श गरी तयारीलाई थप व्यवस्थित बनाइरहेको उहाँको भनाइ छ । निर्वाचन आयोग व्यवस्थापकीय रूपमा पूर्ण तयारीमा रहेको पनि उहाँले स्पष्ट गर्नुभयो ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले राष्ट्रपतिबाट ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी सरकारलाई दिइएको र त्यसबाहेक अन्य कुनै विकल्प नरहेको बताउनुभयो । उहाँले देशमा सकारात्मक वातावरण निर्माण गर्दै सुरक्षा संयन्त्रलाई अझ मजबुत बनाइने धारणा राख्नुभयो ।

कतिपय माग सम्बोधन गर्न संविधान संशोधनको आवश्यकता समेत रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले त्यस विषयमा पनि छलफल अगाडि बढ्ने संकेत गर्नुभयो ।

कार्यक्रममा निर्वाचन आयुक्तहरू डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij