काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणनाको तयारी तीव्र पारेको छ । कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय आर्थिक गणना २०८२ को कार्यतालिका सार्वजनिक गरेको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ भित्रै आर्थिक गणनाको तथ्यांक संकलन कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलन २०८३ वैशाख २ गतेदेखि २०८३ असार ७ गतेसम्म सञ्चालन हुनेछ ।
आर्थिक मापनका लागि कार्यालयले आर्थिक गणनाको नारा तय गर्दै लोगो समेत सार्वजनिक गरेको छ । यस गणनाअन्तर्गत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिनेछ । देशभर दर्ता तथा अदर्ता, साना–ठूला व्यापार/प्रतिष्ठान, धेरै रोजगारी दिएका तथा स्वरोजगार प्रतिष्ठानको तथ्यांक संकलन गरिने कार्यालयले जनाएको छ ।
उद्योग, कलकारखाना, व्यापार–व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, सरकारी तथा निजी विद्यालय, अस्पताललगायत आर्थिक क्रियाकलाप सञ्चालन गरिरहेका एकाइहरूमा गणना गरिनेछ । तर अन्तर्राष्ट्रिय संघसंस्था, कूटनीतिक नियोग, प्रशासनिक तथा नियमनकारी सरकारी कार्यालय, सुरक्षा निकाय, सामान्य घरायसी क्रियाकलाप भने गणनामा समावेश नहुने स्पष्ट गरिएको छ ।
आर्थिक गणनाको पूर्वतयारी फागुन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । २०८२ चैत १ गतेदेखि देशभरका ७७ जिल्लासहित थप ७ गरी कुल ८४ वटा कार्यालय स्थापना गरिनेछ । यी कार्यालयहरू २०८३ असार मसान्तमा बन्द हुनेछन् ।
यसअघि नेपालमा २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । उक्त गणनाअनुसार देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान/व्यवसाय रहेका थिए भने ती प्रतिष्ठानमा ३२ लाख २८ हजार ४५७ जना संलग्न थिए । सो गणनामा २९.६ प्रतिशत महिला व्यवस्थापक रहेको र औपचारिक तथा अनौपचारिक क्षेत्रको संख्या करिब बराबर रहेको देखिएको थियो ।
राष्ट्रिय आर्थिक गणनाको उद्देश्य उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा सार्वजनिक–निजी संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण संकलन गर्नु रहेको कार्यालयले जनाएको छ ।