२०८३ असोज २ शुक्रबार

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न, एक अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने

ई आर्थिक    शुक्रबार, पौस १८ २०८२
3.5K
Shares
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न, एक अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने

चितवन।  भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न भएको छ । मुख्य राजमार्गका केही स्थानमा बाहेक अन्य क्षेत्रमा भूमिगतको काम सम्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार महानगरपालिको मुख्य सहरी क्षेत्रअन्तर्गत हाकिमचोक, केन्द्रीय बस टर्मिनल, सहिदचोकदेखि वीरेन्द्र क्याम्पससम्म भूमिगत विद्युतीकरणको लाइन जडानको काम बाँकी रहेको छ ।

यहाँको काम ८३ प्रतिशत सकिएको जनाउँदै उनले पाइप जडान, डिभाइस जडान, फाउन्डेसन निर्माण लगायतका काम सकिएको बताए । बाँकी रहेको भूमिगतको कामसँगै घरमा जोड्ने काम पनि भइरहेको उनले जानकारी दिए । फागुन मसान्तसम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गरिने उनको भनाइ छ ।

पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिएको छ ।

महानगर भित्र विद्युतीय तार भूमिगत गर्नका लागि एक अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने छ । सुरुआती समयमा एक अर्ब ३० करोड रुपैयाँ बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । काम थपिएसँगै १० करोड रुपैयाँ थप गरिएको हो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो ।

ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटक–पटक म्याद थप गरेर काम अघि बढाइएको हो । एसियाली विकास बैङ्कको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij