२०८३ साउन ९ शनिबार

सेल्युलाइडमा बनेका पुराना नेपाली चलचित्र ‘डिजिटाइज’ गरिँदै, बोर्डद्वारा आवेदन आह्वान

ई आर्थिक    बुधबार, पौस १६ २०८२
2.5K
Shares
सेल्युलाइडमा बनेका पुराना नेपाली चलचित्र ‘डिजिटाइज’ गरिँदै, बोर्डद्वारा आवेदन आह्वान

काठमाडौँ : सेल्युलाइड प्रविधिमा निर्माण भएका नेपाली चलचित्रलाई आधुनिक डिजिटल स्वरूपमा रूपान्तरण गर्ने प्रक्रिया चलचित्र विकास बोर्डले अघि बढाएको छ। स्वदेशी चलचित्रको संरक्षण, संवर्द्धन र दीर्घकालीन सुरक्षित भण्डारण गर्ने उद्देश्यसहित बोर्डले ‘डिजिटाइजेसन’ का लागि इच्छुक निर्माता वा अधिकार प्राप्त व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो।

चलचित्र विकास बोर्डले आज सार्वजनिक गरेको सूचनाअनुसार सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिनेछ। बोर्डका अनुसार चलचित्र डिजिटल स्वरूपमा रूपान्तरण भएपछि तिनको दृश्य–श्रव्य गुणस्तर सुधार हुनुका साथै भविष्यका पुस्ताका लागि सुरक्षित राख्न सहज हुनेछ।

यसअघि बोर्डले ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवन रेखा’, ‘सिन्दुर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’ र ‘शान्तिदीप’ लगायतका सेल्युलाइड प्रविधिमा निर्माण भएका चलचित्रको सफलतापूर्वक डिजिटाइजेसन गरिसकेको छ। ती चलचित्रमा अङ्ग्रेजी भाषामा सबटाइटलसमेत राखिएको बोर्डले जनाएको छ।

यसैबीच, चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ले हाल प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण पनि सार्वजनिक गरेको छ।

बोर्डका अनुसार गत मङ्सिर १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘हर्ष’ ले पुस १२ गतेसम्म २८ लाख ७८ हजार ८३६ रुपैयाँ आम्दानी गरेको छ। एकता पौडेलको निर्देशनमा बनेको यस चलचित्रका लागि आठ हजार ८६८ वटा टिकट बिक्री भएका छन्। चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह र वर्षा राउतलगायत कलाकारको अभिनय रहेको छ।

त्यसैगरी, मङ्सिर १८ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘अभिमन्यूः च्याप्टर १’ ले सोही अवधिमा २१ लाख ५० हजार ४०२ रुपैयाँ कमाइ गरेको छ। सुशान्त गौतमद्वारा निर्देशित उक्त चलचित्रका छ हजार ८६१ टिकट बिक्री भएका छन्। यसमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ र सरिता गिरीलगायत कलाकारले अभिनय गरेका छन्।

मङ्सिर २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पीआर’ ले ६ लाख ७५ हजार ३३ रुपैयाँ आम्दानी गरेको छ भने दुई हजार १४१ टिकट बिक्री भएका छन्। शोभित बस्नेत निर्देशित यस चलचित्रमा सुरज पौडेल, विनीता कार्की, नीर शाह र गौरी मल्ललगायत कलाकारको अभिनय रहेको छ। सोही दिन प्रदर्शनमा आएको ‘लोकन्ती’ ले ४ लाख १२ हजार ५४० रुपैयाँ र ‘चिराग’ ले ६८ हजार ४५० रुपैयाँ कमाइ गरेका छन्।

पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले पनि घरेलु बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेको छैन। हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको यस चलचित्रले सोही अवधिमा ६२ लाख ६९ हजार ४७५ रुपैयाँ आम्दानी गरेको छ। चलचित्रका लागि १९ हजार ७९३ टिकट बिक्री भएका छन्।

भ्रष्टाचार र बेथितिविरुद्धको विषय उठान गरिएको उक्त चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन र राजेन्द्र नेपालीलगायत कलाकारले अभिनय गरेका छन्।

हाल प्रदर्शनरत चलचित्रमध्ये सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र ‘परान’ बनेको छ। गत कात्तिक १४ गतेदेखि प्रदर्शन सुरु भएको यस चलचित्रले प्रदर्शनको ५१ औँ दिनसम्म १७ करोड ६७ लाख ३६ हजार ८२८ रुपैयाँ कमाइ गरेको बोर्डले जनाएको छ। दीपकप्रसाद आचार्य निर्देशित चलचित्र ‘परान’ का लागि छ लाख २७ हजार ५८५ टिकट बिक्री भएका छन्। चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी र सुव्रत आचार्यलगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij