काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान मन्त्री खरेल भक्तपुरको गुण्डुस्थित ओलीको निवासमा पुगेर छलफलमा सहभागी भएका हुन्।
सञ्चारमन्त्रीको सचिवालयका अनुसार उक्त भेट पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पन्न भएको हो। मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्जस्थित निवासमा भेट गरिसकेका छन् भने शुक्रबार नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
भेटका क्रममा आगामी निर्वाचनको तयारी, निर्वाचनलाई सहज र सुरक्षित बनाउने उपाय तथा राजनीतिक सहमतिका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ। सरकारले प्रमुख दलका शीर्ष नेतासँग अलग–अलग संवाद गरी स्वतन्त्र, निष्पक्ष र भयमुक्त निर्वाचन सुनिश्चित गर्ने प्रयास गरिरहेको बताइएको छ।
छलफलमा पूर्वप्रधानमन्त्री ओलीमाथि जेन–जी आन्दोलन छानबिन आयोगले लगाएको काठमाडौं उपत्यकाबाहिर यात्रा प्रतिबन्धको विषय पनि उठेको बताइन्छ। यसअघि सरकारको टोलीले एमालेको केन्द्रीय कार्यालय च्यासलको निरीक्षण गर्दा निर्वाचनमा सहभागिता र प्रतिबन्धप्रति लचकता देखाउने संकेत दिएको थियो।
एमालेले उपयुक्त वातावरण बने निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएको छ। सरकारले यी भेटघाटलाई राष्ट्रिय सहमतिको प्रयासका रूपमा लिएको छ। यसले राजनीतिक तनाव कम गर्दै निर्वाचन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।