२०८३ साउन १० आइतबार

मेयर बालेन नयाँ पार्टी खोल्ने तयारीमा, आफू केपी ओलीको क्षेत्रबाट चुनाव लड्ने

ई आर्थिक    बिहिबार, पौस १० २०८२
2.4K
Shares
मेयर बालेन नयाँ पार्टी खोल्ने तयारीमा, आफू केपी ओलीको क्षेत्रबाट चुनाव लड्ने

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ नयाँ राजनीतिक पार्टी गठन गर्ने तयारीमा जुटेको खुलासा भएको छ। आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएर आगामी निर्वाचनमा सहभागी हुने उद्देश्यसहित बालेनले सक्रिय छलफल थालेका छन्।

बालेन निकट स्रोतका अनुसार उनले बुधबार दिउँसो २ बजेदेखि ललितपुरको ज्वागल क्षेत्रमा फरक–फरक क्षेत्रका व्यक्तित्वसँग वान–टु–वान भेटघाट र छलफल गरेका थिए। ती भेटघाटमा राजनीति, सञ्चार, युवा नेतृत्व र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू सहभागी रहेको जनाइएको छ।

स्रोतका अनुसार बालेनले पूर्व विवेकशील पार्टीका नेताहरू मिलन पाण्डे र रमेश पौडेल, जेन–जी प्रतिनिधि रक्षा बम, सीके राउत, रेशम चौधरी, सुरज सिंह ठकुरी, सम्भव सिरोहिया, ऋषि धमला, अभिनेता निश्छल बस्नेत तथा युट्युबर सिरोज गौतमलगायतसँग व्यक्तिगत रूपमा कुराकानी गरेका छन्।

छलफलका क्रममा बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट प्रतिष्पर्धा गर्ने विषयमा समेत धारणा राखेको स्रोतको दाबी छ।

स्रोतका अनुसार बालेन निर्वाचन आयोगमा दर्ता भइसकेको पार्टीको नेतृत्व गर्दै चुनावी मैदानमा जाने तयारीमा छन्। उक्त पार्टीको चुनाव चिह्न ‘लौरो’ रहने बताइएको छ।

यसअघि बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग मिलेर अघि बढ्ने विषयमा पनि छलफल गरेका थिए। तर पछिल्लो गतिविधिले उनी आफ्नै नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माणतर्फ अग्रसर भएको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij