भरतपुर। उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शुक्रबार साँझ निर्माणाधिन भरतपुर सिटीहलको निरीक्षण गर्नुभएको छ।
२०७७ मंसिरमा सम्झौता भई २०७९ फाल्गुनमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको सिटीहलको निर्माण कार्य सुस्त भएको पाइएपछि निरीक्षण गरिएको हो। हालसम्म ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। रुफ (छाना)को डिजाईनमा समस्या आएपछि निर्माण करिब डेढ वर्ष रोकिएको थियो, तर हाल संशोधित डिजाईन स्वीकृत भई निर्माण कार्य पुनः सुचारु भएको छ।
निर्माण अवधि २०८३ असार ११ सम्म थप गरिएको छ। रु. ८७ करोड ८८ लाख लागतमा निर्माण भइरहेको सिटीहलमा २००० क्षमताको मुख्य हल, ३०० क्षमताको सहायक हल र ७ वटा ब्लक रहने छन्।
मन्त्री घिसिङले रुफ संरचनाको डिजाईनमा आएको त्रुटिका कारण ढिलाइ भएको बताउँदै, रुफ निर्माणसँगै अन्य संरचनाको कार्य पनि छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ।