काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान पाँचौँ दिन पनि जारी छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, मतदान समय साँझ ५ बजेबाट ८ बजेसम्म थप गरिएको छ।
साँझ ५ बजेसम्म ८०२ प्रतिनिधिले मतदान सकिसकेका थिए। महाधिवेशन प्रतिनिधिहरूले मतदान केन्द्रभित्र प्रवेश गरिसकेका खण्डमा साँझ ८ बजेसम्म भोट हाल्न पाउनेछन्।
मतदानमा सहभागीलाई सहज बनाउन टोकन प्रणालीमार्फत क्रमबद्ध प्रवेशको व्यवस्था गरिएको छ। एकैपटक ५० जनासम्म मतदान गर्न पठाउने र एक जनालाई भोट हाल्न करिब ४०–५० मिनेट लाग्ने हुँदा मतदान प्रक्रिया केही ढिलो भइरहेको छ।
यस महाधिवेशनमा अध्यक्षसहित ३०१ सदस्यका लागि मतदान भइरहेको छ र प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको छ ।