२०८३ असोज २ शुक्रबार

मादी आर्क पुलको निर्माण ७४ प्रतिशत सम्पन्न, दैनिक १३० कामदार खटाएर काम हुँदै

ई आर्थिक    बुधबार, पौस २ २०८२
4.6K
Shares
मादी आर्क पुलको निर्माण ७४ प्रतिशत सम्पन्न, दैनिक १३० कामदार खटाएर काम हुँदै

तनहुँ।  मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको मादी पुल निर्माणले तीव्रता पाएको छ। दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ।

पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनमा निर्माण गर्न लागिएको हो। व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन चार लेनको पुलमा दैनिक एक सय ३० जना कामदार परिचालन गरिएको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

उनका अनुसार यातायात आवागमनका लागि मात्रै नभई पर्यटकलाई पनि आकर्षण गर्ने उद्देश्यले कलात्मक डिजाइनको पुल निर्माण भइरहेको छ।

तीन सय १५ मिटर लामो यस पुलको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ।

‘सम्झौताअनुसार काम नसकिएपछि ११ महिना म्याद थप गरिएको हो,’ इञ्जिनियर पाण्डेले भने, ‘पछिल्लोपटक थप गरिएको म्यादभित्र पुल सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको छ।’

अहिले पुलको ढलान गर्नुपूर्वको फर्मा लगाउने, डण्डी तान्ने, टेका लगाउनेलगायत काम भइरहेको छ। उनका अनुसार चार लेनको एउटै बेस निर्माण गरिएको उक्त पुल पृथ्वी राजमार्गकै पहिलो र लामो छ।

गत साउन २६ गते म्याद सकिएपछि आगामी असार १९ गतेसम्मलाई समय थपिएको इञ्जिनियर पाण्डेले जानकारी दिए। उनले भने, ‘जेठ, असार, साउन र भदौ गरी चार महिना वर्षायाम भएकाले निर्माण रोकिएकामा दसैँ लगत्तैदेखि पुनर्निर्माणले गति लिइरहेको छ।’ उनका अनुसार पुलमा छवटा स्पान हुनेछन्।

पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले विसं २०७९ साउन २६ गते एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ। सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए।

मुग्लिन-पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्। आँबुखैरेनी-जामुनेसम्मको ४१ दशमलव ४५ किलोमिटर कालोपत्रे सकिएको छ। पूर्वी खण्डमा वि.सं. २०७७ माघ १७ गते सम्झौता भई वि.सं. २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij