ई–आर्थिक, काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पार्टी अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिव पदका उम्मेदवार शंकर पोखरेल र सुरेन्द्र पाण्डेले मतदान गरिसकेका छन् । अन्य उम्मेद्वार तथा प्रतिनिधिहरु मतदानका लागि लाइनमा बसेका छन् ।
हिजो नै मतदान गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँदै आजबाट मात्र मतदान सुरु गरिएको हो । मतदान प्रक्रिया विद्युतीय माध्यमबाट भइरहेको छ ।
महाधिवेशनस्थलमा रामलक्ष्मण विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ । एक जना प्रतिनिधिले मतदान गर्न करिब ३० देखि ४० मिनेट समय लाग्ने बताइएको छ ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ । दुवै उम्मेदवारले आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका छन् ।
यस महाधिवेशनमा १९ जना पदाधिकारी चयन गरिनेछ । ती पदका लागि ४२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । समग्रमा केन्द्रीय नेतृत्वका विभिन्न पदमा ३०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।
